
मिसन मिडिया क्लबले पत्रकार महासङ्घ भक्तपुरका कोभिड सङ्क्रमित पत्रकार चन्द्रकला क्षेत्री भगवतीलाई कोभिड बिमा बापतको रकम हस्तान्तरण गरेको छ । यसअघि क्लबले सङ्क्रमित पत्रकारलाई जनही रु एकलाख रुपैयाँ उपलब्ध गराउँदै आएकोमा यस पटक कोभिड–१९ दोस्रो लहरको उच्च जोखिमका कारण नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको बैठकको निर्णय अनुसार समितिले स्थापना गरेको कोभिड पत्रकार राहत कोष प्रयोजनका लागि क्लबको तर्फबाट विमित पत्रकारसङ रु दश हजार कट्टी गर्दै बिमा रकम हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष एवम् प्रदेश समितिका तत्कालीन महासचिव श्रीजन झाको अगुवाइमा महासङ्घ उपत्यका प्रदेश समिति आबद्ध प्रदेश मातहतका रहेको जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको पत्रकार कोभिड बिमा’ गरेको थियो । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले फोटो पत्रकार चन्द्र कलालाई उपत्यका प्रदेश समितिको कार्यकक्षमा बिमा बापतको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा प्रदेश समितिका अध्यक्ष झाले आफूले पाउने बिमा बापतको रकम मध्ये रु दश हजार राहत कोषमा योगदान गरेकोमा हार्दिक आभार व्यक्त गर्दै उनको सुस्वास्थ्यको कामना गरेका थिए । कार्यक्रममा प्रदेश समितिका सचिव रोशनराज पाण्डे फोटो पत्रकार अनुप प्रधान लगायतको उपस्थिति रहेको थियो ।