
धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।
नेपाल सुपर लिग अन्तरगत आज भएको अन्तिम चरणको पहिलो खेलमा काठमाडौंलाई २-१ गोल अन्तरले हराउदै धनगढीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । काठमाडौंका लागि तेज तामाङ र धनगढीका लागि पुजन उपकोटीले गोल गरेका थिए ।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी भएसी खेल अतिरिक्त समय तिर धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो हाल्फमा १ गोल थप्दै धनगढीले जित हासिल गरेको हो । एक सय आठौँ मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई फाइनलमा पुर्याए ।
खेलमा काठमाण्डौले पर्याप्त दबाब बनाए पनि जित्न भने सकेन । आजको जितसँगै धनगढीले समूह चरणमा काठमाण्डौसँग हारेको बदला पनि लिएको छ ।
आज पराजित भएको काठमाडौं एफसीले भोलि ललितपुर र बुटवल लुम्बिनी बिच हुने खेलको बिजेता सँग फाइनलमा स्थान पक्का गर्नको लागी भिड्नु पर्ने हुन्छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।