
सुनसरीको धरानमा कोरोना सङक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव जनाउन नदिइएपछि विराटनगर ल्याएर अन्त्येष्टि गरिएको छ । धरान–१५ खत्रीधारा क्षेत्रका स्थानीयले शव जलाउन अवरोध गरेपछि ४६ वर्षीय पुरुषको शव विराटनगर ल्याएर अन्त्यष्टि गरिएको हो ।
धरान उपमहानगरपालिका–३ का पुरुषको सोमबार राति १२ बजे मृत्यु भएको थियो । श्रेष्ठ थरका पुरुषको अन्त्यष्टिका लागि आफन्तले धरान, इटहरी र चतराको घाटमा अन्त्येष्टिका लागि अनुमति मागेका थिए । तर सबैतिरबाट अनुमति नपाएपछि आफन्तले मङ्गलबार दिउँसो साढे ३ बजे विराटनगरको परोपकार घाट ल्याएर अन्त्यष्टि गरेका हुन् ।
धरान यसअघि पनि स्थानीयले शव जलाउन अवरोध गरेका थिए । शनिबार स्थानीयले धरान–१६ का ४१ वर्षीय पुरुषको शव पनि जलाउन दिएका थिएनन् । कोरोना भाइरसका कारण मृत्यु भएकाको शव व्यवस्थापन गर्दा त्यहाँ आसपासका स्थानीयलाई समस्या हुने भन्दै उनीहरू सडकमै उत्रिएका थिए ।
स्थानीय सडकमा उत्रिएपछि खत्रीधारामा शव व्यवस्थापन नगरिएको धरान उपमहानगर स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्प्पतालमा उपचारको क्रममा धरान–१६ का ४१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको थियो ।