काठमाडौँ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरको छ ।
पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार मंगलबार बिहान ६ बजेर ४० मिनेट जाँदा राजकुमार खलिफासहितको टोलीले सगरमाथाको चुचुरामा पाइला टेकेको हो ।
आरोहण मार्ग डोरी लगाउने कामी रिता शेर्पासहितको १२ सदस्यीय शेर्पा टोली बाहेक राजकुमार खलिफाको टोली यो सिजन सगरमाथामा पुग्ने पहिलो समूह बनेको हो ।
यो समूहले विगतको भन्दा उचाई बढेको सगरमाथा चढेका हुन् । गत वर्ष नेपाल र चीनले संयुक्त रुपमा गरेको मापनमा सगरमाथाको उचाइ केही बढेर ८ हजार ८४८।८६ मिटर पुगेको थियो । त्यसअघि सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर थियो ।
राजकुमार खलिफासहितको १२ सदस्यीय टोली सगरमाथामा पुगेको सेभेन समिट ट्रेकका सञ्चालक मिग्मा शेर्पाले जानकारी दिएका छन् । राजकुमार खलिफाले यसअघि गएको वर्ष लोबुचे र मनास्लु हिमाल चढेका थिए ।
यो वर्षको वसन्त यामका लागि पर्यटन विभागले सगरमाथा आरोहणका लागि ४०८ जनालाई अनुमति दिएको छ । सन् २०१९ सगरमाथा आरोहणका लागि ३८१ जनालाई विभागले अनुमति दिएको थियो ।
सन् २०१९ यता पहिलोपटक सगरमाथा आरोहणका भइरहेको हो । कोरोना भाइरसको महामारीका कारण गएको वर्ष आरोहण हुन सकेको थिएन ।
यो वर्षपछि आरोहणका लागि आधार शिविर पुगेका कम्तीमा डेढ दर्जनलाई संक्रमण देखिएपछि उद्धार गरिएको छ । तर विभागले भने आरोहीमा संक्रमण नदेखिएको बताउँदै आएको छ ।