युवा पत्रकार बालकृष्ण बस्नेतले प्रधानमन्त्री केपी ओली विरुद्ध घेराबन्दी भएकाले काममा अवरोध भएको जनाएका छन् ।
संसदमा विश्वासको मत प्राप्त नभएकै दिन बस्नेतले सामाजिक सञ्जालमा ओली देशको विकास लागि भिजन बोकेका र काम गरेका नेता भएपनि घेराबन्दी भएको आक्षेप लगाएका हुन् ।
लामो समय कान्तिपुर दैनिकमा बरिष्ठ सम्पादक र इकान्तिपुर डट कममा सम्पादक रहिसकेका पत्रकार बस्नेतले लेखेका छन्, ‘यदि देशलाई साँच्चै देश र नेपाली जनतालाई माया गर्ने हो भने ओलीलाई निर्धक्क काम गर्न दिऔँ ।’
पत्रकार बस्नेत गत पत्रकार महासंघको चुनावमा महाससचिव पदका प्रत्यासी समेत थिए ।
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्,
म फेरी पनि भन्छु, ओली जति देशको विकासको लागि भिजन बोकेको, काम गरेको र अब गर्ने नेता पाउन गाह्रो छ । अहिलेको घेराबन्दीको कारण पनि त्यही काम गर्न नदिने प्रपञ्च हो ।
यदि देशलाई साँच्चै देश र नेपाली जनतालाई माया गर्ने हो भने ओलीलाई निर्धक्क काम गर्न दिऔँ । एमालेजनहरुलाई म भन्छु, काम गर्न दिनुस् । कम्तीमा महाधिवेशनबाट र संसदीय चुनावमा पनि पहिलो कार्यकाल ५ वर्ष ढुक्कले काम गर्न दिऔं ।
त्यसपछि तलमाथि परो भने बहस गर्न हामी तयार छौं । तर, बिचमै अड्को थाप्ने ? किन ? नेपाली जनताको प्रश्न हो तपाईँहरुलाई । माधव नेपाल एमालेको नेता हो, सोच्नुहोस् । एमाले तपाईंको पनि हो ।