गायक तथा सङ्गीतकार सुभास अगमले दोस्रो लहरको कोरोना महामारीका कारण आफ्ना बुबा गुमाए । ६४ वर्षीय बुबा शिवलाल कँडेलको तीन दिनअगाडि मात्र कोरोना सङ्क्रमणका कारण निधन भयो । बुबाको शोकमा बसिरहेका छन् अगम । बुबाको काजकिरियामा रहेका अगम पनि कोरोनाबाट सङ्क्रमित छन् ।
अस्पतालमा बुबाको हेरचाह गर्नेक्रममा सुभास पनि कोरोना सङ्क्रमित बनेका हुन् । पहिलो लहरको कोभिड महामारीका बेला दाजु सङ्क्रमित बनेका थिए । तर दोस्रो लहरको कोभिडले उनको परिवारलाई धेरै नै प्रभावित तुल्यायो ।
दाजु पहिलो लहरको कोभिड महामारीको अन्त्यतिर सङ्क्रमित भइ निको भएपछि अगम आशावादी थिए । अब जनजीवन सामान्यतिर फर्कियो । लगभग काठमाडौँ पनि सामान्य जनजीवनमा फर्किसकेको अवस्था थियो । अगमलाई लाग्थ्यो, काठमाडौँ कोरोनाले आक्रान्त थियो र ?
अनि अब पुनः माइक्रोफोन समातेर स्टेजमा चढ्न पाइन्छ भन्ने आशामा थिए उनी । हुनत उनी गजल गायक हुन्, पछिल्ला समय त्यति धेरै गजल कार्यक्रम हुँदैनन् पनि । त्यै पनि उनी श्रम गर्ने ठाउँ पुनः सुचारु हुन्छ भन्ने अपेक्षामा थिए उनी ।
तर भइदियो अर्कै । दोस्रो लहरको कोभिडले उनलाई अत्यन्त धेरै प्रभावित तुल्याइदियो । उनले बुबा मात्र गुमाएनन् । एउटा मानसिक रूपमा दाग पनि बोेके कोभिडको । आफू पनि कोभिड सङ्क्रमित हुँदा निराश थिए उनी । बुबाको निधन आँखैअगाडि देखेका कारण डर–त्रास अत्यधिक थियो । तरपनि अध्यात्मिक सोचका उनले धेरै चिन्ता लिएनन् ।
‘म अध्यात्मिक सोचको मानिस हुँ यसैले पनि भगवानको कृपा छ, अरूको जस्तो बुबाको निधन र कोभिडको सङ्क्रमण हुँदा पनि डिप्रेसनमा गइनँ,’ केटिएम दैनिकसँग उनले भने, ‘तर कोरोनाको दोस्रो लहर कालो रात ठहरियो । बुबालाई चुँडेर लग्यो ।’
हाल उनी स्वस्थ भइसकेका छन् तर कोरोना पुनः परीक्षण भने गराएका छैनन् । अब केही दिनमा उनी पुनः पिसिआर परीक्षण गराउने सोचमा छन् । बुबाको काममा रहेका उनी सङक्रमित भएका कारण कोठामा एक्लो छन् । भगवान सम्झन्छन् बस्छन् । अर्को कोठामा आमा–दाजुलगायत छन् । दुःखत घडीमा छन् उनी । त्यै पनि विक्षिप्त बनेका छैनन् ।
‘आमा तथा दाजुहरू अर्को कोठामा पीडामा हुनुहुन्छ । म एक्लै भए पनि भगवान सम्झन्छु र दुःख भुलाउँछु’, उनी भन्छन्, ‘ ध्यान गर्छु, आध्यात्मिक किताबहरू पढछु । हुने हार भन्छन्, लेखान्त यस्तै थियो ।’
कोरोना सङ्क्रमित हुने अर्का गायक हुन्, प्रकाश सपूत । गत साता सङ्क्रमित भएका उनी हाल होम आइसोलेसनमा छन् । प्रकाश साङ्गीतिक कार्यक्रममा ब्यस्त रहने प्रकाश सङ्क्रमित भइ एउटा कोठामा खुम्चिनुपर्दा दुःख लागेको सुनाउँछन् ।
पहिलो लहरको कोरोना महामारी सकिएपछि उनी केही कार्यक्रमा सहभागी भए । स्टेजमा चढे आफ्ना दर्शक–स्रोतासँग भेटघाट गर्न पाउँदाको छुट्टै खुसी थियो उनमा । अब, यो क्रम कायमै रहला भन्ने अपेक्षा रहेको सुनाउँदै प्रकाश भन्छन्, ‘मैले कोरोनाको अन्त्य ठानिसकेको थिएँ । कार्यक्रम गरेँ । केही म्युजिक भिडियो सकेँ । तर दोस्रो लहरले मलाई थचक्कै बसायो । अहिले एउटा कोठामा खुम्चिरहेको छु । बडो दुःख छ ।’
प्रकाशलाई अहिले पनि शरीरमा पीडा हुने, दुख्ने, खाना मन नलाग्ने भइरहेको छ । उनी यसबाट मुक्त हुनका लागि किताब पढ्ने, पुराना फिल्महरू हेर्ने, गीत सुन्नेलगायत काममा आफूलाई भुलाउँछन् । यसैले उनी पनि डिप्रेसनमा जाने कुराबाट टाढा छन् ।
उनी भन्छन्,‘आफूलाई डिप्रेसनमा जानबाटा बचाउनका लागि ब्यस्त रहन्छु । आफ्ना भिडियो हेर्छु, किताब पढ्छु, पुराना फिल्म हेर्छु । फेरि जनजीवन सामान्य हुन्छ भन्ने कामना गर्दै आफूलाई भुलाउँछु । जनजीवन सामान्य भयो अब पुनः माइक समातेर स्टेजमा गाऔँला भन्ने थियो तर अर्कै भइदियो ।’