धरानस्थित बिपी प्रतिष्ठानमा आन्दोलनकारीले लगाएको ताला प्रहरीले फोडेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशनमा प्रहरीले बिपीमा लगाइएको ताला फोडेको हो ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा ४ जना पदाधिकारीहरू उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार, अस्पताल निर्देशक र नर्सिङ मेट्रोको कार्यकक्षमा शुक्रबार तालाबन्दी गरिएको थियो ।
कोभिड उपचारमा खटिएका कर्मचारीहरूले जोखिम भत्ता हालसम्म नपाएको, कोभिडमा खटिएका कर्मचारीहरूलाई क्वारेनटाइन र खानाको व्यवस्था नगरेकोलगायत पाँच वटा माग राखेर चार जना पदाधिकारीको कार्यालयमा तालाबन्दी गरेका थिए ।
सो तालाबन्दी जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको निर्देशनपछि प्रहरीले तोडेको हो । सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्डविपरीत भेला हुने कार्य भइरहेको, कोभिड महामारीको बेला र सुनसरी प्रशासनले लकडाउन गरेको बेला ताला लगाएको भन्दै ताला तोडिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
यता, आन्दोलनरत समितिका किरण भट्टराई ५ बुँदेमध्ये एउटा मागको पनि सम्बोधन नभएकाले माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् ।