धरान, २६ वैशाख । सुनसरीको धराननबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाइते बनाएर नगद तथा गरगहना लुट्ने समूह पक्राउ परेको छ । आइतबार प्रहरीले धरान–१५ पूर्वेली पथबाट एक महिलासहित तीन जनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ पथरी–३ घर भई हाल धरान–१५ सुनगाभा मार्गमा बस्ने ३८ वर्षीय सन्तोष भन्ने वीरबहादुर परियार, पथरी शनिश्चरे–५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाइन बस्ने ३५ वर्षीय सोनी राई र धरान–१३ अमरहाट बस्ने २९ वर्षीया लक्ष्मी लिम्बू रहेका छन् ।
वैशाख ११ गते बिहान सवा ९ बजे सोही स्थानका झरना विश्वकर्मा र उनका छोरा जोहन विश्वकर्मा पूजा गर्न घरबाहिर गएको अवस्थामा उक्त समूह घरमा प्रवेश गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो समूहले झरनाकी आमा गोविन्दमाया विश्वकर्मालाई टाउकोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाइते बनाई नगद रु. २ लाख र घरमा रहेका सुनका गरगहना गरी जम्मा रु. ११ लाख ४० हजार ९५० बराबरको धनमाल डाका गरी लगेका थिए ।
सो घटनामा घाइते भएकी गोविन्दमायाको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा वैशाख १९ गते मृत्यु भएको थियो । उक्त घटनामा संलग्न प्रतिवादीहरूको खोजतालसका लागि पीडित परिवारको जाहेरी तथा स्थानीय मानिसको सूचनाको आधारमा सुक्ष्म रूपले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो ।
उक्त घटनाको गहन अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय धरानले उल्लेख गरिएका समानसहित घटनामा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरूले लुटेर लगेको गहनाहरू सोनी राइले बहिनी नाता पर्ने लक्ष्मी लिम्बूलाई लुकाई छिपाई राख्न दिएको खुलेको थियो । त्यसपछि प्रहरीले लक्ष्मीको कोठा खानतलासी गरेको थियो । लक्ष्मीको कोठामा लुकाई–छिपाई राखेको अवस्थामा सुनका गहनाहरू समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका उपर कर्तव्य ज्यान र डाँका मुद्धामा कारवाही प्रक्रिया अगाडि बढाई थप अनुसन्धानसमेत भइरहेको सो कार्यालयले जनाएको छ ।