दोस्रो लहरको कोरोना भाइरस महामारीका कारण सङ्क्रमितले मोरङका कोरोना अस्पतालका बेड भरिएका छन् । कोरोना सङ्क्रमितको उपचार गरिरहेका मोरङका दुवै निजी कोभिड अस्पतालका बेड भरिएका छन् भने सरकारी कोसी कोभिड अस्पतालको बेड पनि खाली छैन ।
हाल मोरङका निजी अस्पतालद्वय नोबेल शिक्षण अस्पताल र विराट मेडिकल कलेजले कोभिड अस्पतालका सञ्चालन गरिरहेका छन् । तर दुवै अस्पतालका बेड भरिएपछि सङ्क्रमितको उपचारका लागि शैय्या पाउन कठिनाइ परेको छ । मोरङका तीन वटा अस्पतालमा १०० बेड आइसियू, ४० वटा भेन्टिलेटरसहित ३८४ बेडमा कोभिड–१९ का गम्भीर बिरामीको उपचार भइरहेको छ । कोसी कोभिड अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएको खण्डमा एक सय बेड थपिनेछ ।
विराटनगर–४ स्थित नोबेलको कोभिड अस्पतालमा जम्मा १९२ बेड छन् । त्यसमध्ये सबै बेडमा सङ्क्रमित उपचाररत रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यस्तै ३९ सङ्क्रमित आइसियुमा उपचाररत छन् । आइसियुमा उपचार पाउनका लागि सङ्क्रमितले पालो पाउनुपर्ने अवस्था रहेको उनले बताए ।
‘अस्पतालमा अहिलेसम्म १९२ सङ्क्रमित उपचाररत छन्’, दाहालले केटिएम दैनिकसँग भने, ‘बेडका लागि धेरै फोन आउँछ । उपलब्ध नभएका कारण पालो पर्खिने अवस्था छ ।’ नोबेल कोरोना सङ्क्रमितको उपचारको लागि ३९ बेडको आइसियू छ । आइसियूका सबै बेडमा बिरामी छन् । त्यसमध्ये १० वटा भेन्टिलेटर प्रयोग भइरहेका छन् ।
वैशाख पहिलो सातादेखि अस्पतालले कोभिड अस्पताल सञ्चालन गरेको हो । अब स्वास्थ्य मन्त्रालयसँग ३०० शय्याको कोभिड अस्पताल सञ्चालन गर्न प्रस्ताव गरिसकेको बताउँदै उनले स्वीकृति आइनसकेको बताए । यता, कोरोना सङ्क्रमितको निःशुल्क उपचार हुने कोसी अस्पताल कोभिड उपचार केन्द्रमा पनि बेड खाली छैनन् । कोसी कोभिडमा १२ वटा बेड खाली भए पनि ती बेड बिरामी रिप्लेसमेन्टका लागि चाहिने अस्पतालका संयोजक बैजनाथ शाहले बताए ।
कोसी कोभिडमा ९६ बेड छन् । त्यसमध्ये ८४ जना उपचाररत छन् । यस्तै आइसियूमा २१ जना उपचार छन् भने भेन्टिलेटरमा दुई जनालाई राखिएको छ । ‘अब अस्पतालमा बेड खाली छैनन् । सबै बेड भरिएका छन्’, उनले भने, ‘बेड भरिभराउ भए पनि सङ्क्रमितका आफन्तले तारन्तार फोन गरिरहेको अवस्था छ ।’
यसैगरी विराट मेडिकल कलेजमा पनि अस्पताल खोली छैनन् । विराटको कोभिड उपचार केन्द्रमा २ सय बेड छ । तीमध्ये १७६ बेड भरिएका छन् भने अन्य बेडमा अस्पतालकै कर्मचारी भर्ना भएको कलेजको आइसोलेसन इञ्चार्ज सुनिल देवले जनाए ।
हालसम्ममा विराटनगरमा सक्रिय सङ्क्रमितको सङ्ख्या २७ सय ३४ छ । जसमध्ये विराटनगरका तीन अस्पतालमा ४५१ सङ्क्रमितले उपचार गराइरहेको विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक हैदर अलीले जानकारी दिए । उनका अनुसार अन्य सङ्क्रमितले होमआइसोलेसनमा उपचार गराइरहेका छन् ।
विराटनगर महानगरपालिकाभित्र मात्र दैनिक २५० भन्दा बढी नयाँ सङ्क्रमित पहिचान भइरहेको छ । प्रदेश १ मा दैनिक पहिचान भएका सङ्क्रमित सङ्ख्याको झण्डा आधा सङ्ख्या मोरङमा भेटिने गरेको छ । जसले गर्दा अस्पतालहरूमा चाप बढेको हो ।
यस्तै, सिराहा, सप्तरी, उदयपुरलगायत सङ्क्रमित संख्या बढी भएका जिल्लाहरूबाट पनि उपचारका लागि विराटनगरमै आउनुपर्ने अवस्थाले गर्दा यहाँका अस्पतालहरूलाई उपचार सेवा दिन कठिन परेको छ ।