सुनसरीको बर्जु–५ का जाबिर अन्सारी गत फागुनमा मोटरसाइकल दुर्घटनामा परी घाइते भए । १७ वर्षीय जाबिरको फागुन २ गते बिहान दुर्घना हुँदा (स्पाईनल कर्ड) मेरुदण्ड भाँचिएको थियो ।
सुनसरीको भुटाहा मदरसामा कक्षा ७ मा अध्ययनरत छन् । परिवारको आर्थिक अवस्था कमजोर रहेकोले दैनिक ज्यालादारीसमेत गर्ने उनी स्थानीय आशिष अन्सारीको घर निर्माणमा इँटा जोड्ने काम गर्दथे । फागुन २ गते ज्यालादारीको रकम माग गर्दै उनी आशिषको घर पुगेका थिए । तर आशिषले आफूसँग साथमा पैसा नभएको र पैसा लिन जानुपर्ने भएकाले बाइकमा तेल हालेर ल्याउन जाबिरलाई अह्राएका थिए ।
भीमपुरस्थित पेट्रोल पम्पमा तेल हाल्न जाँदै गर्दा उनी दुर्घटनामा परे । उनले कुदाएको बाइक अनियन्त्रित भई उखु बोकेको ट्रयाक्टरमा ठोक्किको थियो । त्यसपछि उनलाई उपचारका लागि एम्बुलेन्समार्फत विराटनगरस्थित गोल्डेन हस्पिटल ल्याइएको थियो । त्यहाँ उनलाई २ महिनासम्म भेन्टिलेटरमा राखेर उपचार गरियो । करिब १२ दिनअघि मात्रै उनलाई अस्पतालको जेनेरल वार्डमा सारिएको थियो ।
अस्पतालले उनलाई मृत्युको मुखबाट त फर्कायो । तर जाबिरको उपचारका क्रममा परिवार भने सुकुम्बासी नै भए । जलिल मियाँले छोरा जाबिरको उपचारमा आफ्नो ६ कठ्ठा जग्गा बेचिसके अनि त्यसबाहेक अरू ऋणसमेत लिईसके । अब उनको अहिले घर मात्र बचेको छ । तर पनि उपचार खर्च तिरिसकिएको छैन ।
जलिलले आफ्नो ६ कठ्ठा जग्गा बेचेर नै अस्पताललाई १९ लाख रुपैयाँ बुझाए । सम्पत्तिको नाममा उनीसँग घर र त्यसले ओगटेको जमिन मात्र बाँकी छ । अब अस्पताललाई एक लाख ७० हजार रुपैयाँ अझै तिर्न बाँकी छ ।
‘सम्पत्तिको नाममा अब घर र त्यसले ओगटेको जमिन मात्र बाँकी छ’, जलिले केटिएम दैनिकसँग भने, ‘अब त्यो तिर्न घरसमेत बेच्नुपर्ने अवस्था छ । सास रहुन्जेल आश हुँदोरहेछ ।’
शनिबार उनी अस्पतालबाट डिस्चार्ज भए । अस्पतालमा उपचारकै क्रममा उनलाई कोरोना सङ्क्रमणसमेत भएको छ । सङ्क्रमित अवस्थामै आफन्तले थप पैसा तिर्नसक्ने अवस्था नभएको बताएपछि शनिबार अस्पतालले उपचार खर्चमा दुई लाख छुट दिँदै उनलाई डिस्चार्ज दिएको हो ।
बिरामीलाई श्वासप्रश्वासमा समस्या नरहेकोले होम आइसोलेसनमा राख्ने परिवारले जनाएको छ । सङ्क्रमित अवस्थामै अस्पतालबाट डिस्चार्ज भएका उनको कम्मरमुनिको भाग चल्दैन । यता, दाजु सज्जाद अन्सारी भने भाइ जाबिरको शरीर नचल्ने अवस्था हुनुको कारण अस्पतालको हेलचेक्र्याइँ भएको दाबी गर्छन् ।