उदयपुरमा आगलागी हुँदा पाँच घर जलेर ध्वस्त भएका छन् । आइतबार उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित वीरेन्द्र बजारमा आगलागी हुँदा पाँच घर जलेर ध्वस्त हुँदा एक करोड ३० लाखभन्दा बढीको क्षति भएको छ ।
आज बिहान अन्दाजी साढे तीन बजे विद्युत सर्ट भएर आगलागी भएको हो । स्थानीय कला राईको घरको मिटरमा सानो आगो सल्कँदै गरेको देखेको र आगो निभाउन पानी छ्याप्दा उक्त पानीनै आगोझैँ भएर घर जल्न सुरु भएको स्थानीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
कला राईको घरबाट सुरु भएको आगो अन्य ४ घरमा समेत पुगेको थियो । बिहानबाट लागेको आगो चौदण्डीगढी नगरपालिकाको दमकल, पानीको ट्यान्कर, स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा करिब दुई घण्टापछि मात्र नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट पद्माकुमारी मगर, कला राई, शिसिरकुमार राई, बादलबिक्रम राई र कृष्ण मगरको घर जलेर नष्ट भएको छ । बादलबिक्रम राईको घरमा मुना राईको परिवार र कृष्ण मगरको घरमा भाडामा भुपाल राई बस्ने गरेको बताइएको छ ।
उक्त आगलागीबाट पाँच घरका ७ परिवारको लत्ताकपडा, गरगहना, अन्नपात, फर्निचर, टिभी, फ्रीजलगायतका सम्पूर्ण सामाग्री जलेर नष्ट हुँदा अन्दाजी १ करोड ३० लाखभन्दा बढी क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार आगलागीबाट पार्किङ गरेर राखेको ट्याक्टर र एउटा मोटरसाइकलसमेत समेत जलेको छ ।