
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण हिजो शुक्रवार साँझसम्म नेपालमा कुल ३ हजार ५७९ जनाको मृत्यु भइसकेको छ।
दैनिक मृत्युदर समेत सर्वाधिक वृद्धि भइरहँदा पछिल्लो एक सातामा २९५ जनाको शव पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृह तथा बाग्मती किनारमा शवको व्यवस्थापन गरिएको छ।
नेपाली सेनाको सहयोगमा पशुपति क्षेत्र विकास कोषले शव व्यवस्थापन गर्दै आएको बताइएको छ। एकै समयमा शवको चाप बढेका कारण वैकल्पिक स्थानसमेतको बन्दोबस्त गर्न लागेको कोषले जनाएको छ।
पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृहको एउटा मेसिनमा खरावी आएको कारण केही दिनदेखि शवहरुलाई बाग्मती किनारमा समेत जलाइएको थियो । बाग्मती किनारमा जलाइएका शवहरुले नेपालको अवस्था पनि भारतको जस्तै बनेको भन्दै आम मानिसहरुमा चिन्ता बढिरहेको अवस्थामा नेपाली सेनाले मेसिन बिग्रिएको कारणले गर्दा बागम्ती किनारामा शव जलाउनुपरेको बताउँदै आइरहेको छ ।