काठमाडौं । नेपाल सुपर लिग फुटबलअन्तर्गत शुक्रबार बेलुका सम्पन्न खेलमा पोखरा थन्डर्सले रोमाञ्चक जीत निकालेको छ । पोखराले १० खेलाडीमा सीमित एफसी चितवनलाई २(१ ले हराएको हो ।
१ ० ले पछि परेको अवस्थाबाट अन्तिम समयतिर २ गोल फर्काउँदै पोखराले महत्वपूर्ण जीत निकालेको हो । पोखराको जीतमा नवयुग श्रेष्ठ र राफायल रिमले १ १ गोल गरेका थिए । चितवनका शिशिर लेखीले एक गोल गरे ।
खेलको ७२ औं मिनेटमा शिशिर लेखीले शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले दायँतर्फ डिबक्स बाहिरबाट प्रहार गरेको बल सोझै गोलपोस्टभित्र छिरेको थियो ।
८२औं मिनेटमा गोलरक्षक विशाल सुनार रातो कार्ड खाँदै मैदानबाट बाहिर पठाइएपछि चितवनलाई धक्का लागेको थियो । डिबक्सबाहिर आएर हातले बल पञ्च गरेपछि उनलाई सोझै रातो कार्ड दिइएको थियो । सोही क्रममा प्राप्त फ्रिकिकमा सिधै गोल गर्दै नवयुगले पोखरालाई खेलमा फर्काए ।
खेलको इन्जुरी समयको चौथो मिनेटमा डिफेन्डर राफायल रिमले गोल गर्दै पोखरालाई ३ अंक दिलाए । जीतसँगै ६ खेलबाट ८ अंक जोडेको पोखरा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ र प्लेअफमा स्थान बनाउन अन्य टोलीको नतिजा कुर्नुपर्ने छ । एक खेल खेल्न बाँकी रहेकव भएपनि चितवन २ अंक मात्र जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।