मोरङको विराटनगरबाट कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ नक्कली बनाएर बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–४ नोबेल टिचिङ्गि हस्पिटल अगाडि रहेको साथी फार्मेसीका सञ्चालक सोनु आलम र कामदार सरमण यादव रहेका छन् ।
कोरोना सङ्क्रमितको उपचारमा रेम्डेसिभिर इन्जेक्सन प्रयोग गरिँदै आएको छ । गम्भीर प्रकृतिको इन्जेक्सन नै नक्कली बनाएर बिक्री गर्ने गिरोहका उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरको विशेष प्रहरीको टोली र मोरङ प्रहरीले नक्कली औषधी बिक्री वितरण गरेको आरोपमा आलम र यादवलाई पक्राउ गरेको हो । सो गिरोहले ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर ७ हजारदेखि २५ हजारसम्म मूल्यमा नक्कली रेमडिसिभिर भन्दै कारोबार गर्ने गरेको खुलेको छ । उनीहरूले भण्डारण गरेको नक्कली रेमडिसिभर इन्सेक्जन पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरूलाई फार्मेसीदेखि पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काले नक्कली इन्जेक्सन बिक्री वितरण गरेको सूचना बाहिरिएपछि छापा हानेर पक्राउ गरिएको जानकारी दिए । नक्कली रेमडिसिभिरको कारोबार गर्ने गिरोहले अहिले विराटनगरमा ९० रूपैयाँमा पाइने ‘स्टासेफ’ इन्जेक्सनमा लेबल लगाएर रेमडिसिभिर भन्दै चर्को मूल्य लिएर विरामीका आफन्तलाई बिक्री गर्दै आएको खुलेपछि प्रहरीले कडाईपूर्वक फार्मेसीहरूको निरागनी राख्ने भएको छ ।