अघिल्लो निषेधाज्ञा प्रभावकारी ढङ्गले कार्यान्वयन नभएको भन्दै मोरङमा जिल्लाभर लागू हुनेगरी निषेधाज्ञा लगाइँदैछ । जिल्ला प्रशासन मोरङले आज राति १२ बजेबाट लागू हुनेगरी आगामी जेठ १ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि मोरङ जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । मोरङमा गत शनिबार रातिदेखि आशिंक लकडाउन गरिएको थियो । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको विराटनगर महानगरपालिसहित जिल्लाका अन्य स्थानमा आंशिक निषेधाज्ञा जारी गरिएको थियो ।
तर बिहीबार आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जनाएका हुन् । प्रजिअ निरौलाले विभिन्न २३ वटा बुँदामा निषेधाज्ञा आदेश जारी गरेका छन् ।
उनका अनुसार निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरू खरिद–बिक्री गर्न छुट छ । त्यस्ता पसल पनि खुला गर्न दिइएको छ । औषधि पसललाई २४सै घण्टा तथा अत्यावश्यक खाद्यवस्तु र तरकारी पसललाई बिहान दस बजेसम्म तथा बेलुकी पाँच बजेदेखि उताको समयमा खोल्न दिइएको छ ।
विराटनगरमा कडाइ
कोरोना सङ्क्रमणका कारण प्रदेश राजधानी विराटनगर सबैभन्दा प्रभावित बनेको छ । यसैलाई लक्षित गरी विराटनगरमा कडाइ गरिने प्रजिअ निरौलाले बताए । जिल्ला प्रहरी कार्यालय मोरङले मास्क नलगाउनेलाई प्रतिव्यक्ति १ सय रुपैयाँका दरले जरिवाना तिराउन थालेको छ ।
बिहीबारबाट विराटनगरमा मास्क नलगाउनेलाई प्रहरीले सङ्क्रामक रोग ऐन २०२० अनुसार प्रतिव्यक्ति १ सय रुपैयाँका दरले जरिवाना तिराउन थालेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार मास्क नलगाउने र निषेधाज्ञा उल्लङ्घन गर्ने पाँच सय ८२ जनाबाट प्रहरीले आजै मात्र ५८ हजार दुई जरिवाना उठाएको छ ।
यस्तै प्रहरीले पसल खोल्ने विभिन्न ४५ व्यापारीलाई पनि नियन्त्रणमा लिएको हो । उनीहरूलाई साँझसम्म प्रहरी कार्यालयमा राखेर सम्झाएर पठाएको डिएसपी राईले जानकारी दिए । यसैगरी, निषेधाज्ञाको उल्लङ्घन गर्ने दुई सय २९ सवारी साधनसमेत नियन्त्रणमा लिइएको उनले बताए ।