वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधनमा राष्ट्रपति विद्या देवी भण्डारीले शोक व्यक्त गरेकी छिन् । राष्ट्रपतिले ट्विटर सामाजिक सञ्जाल (ट्विटर) बाट समवेदना व्यक्त गरेकी हुन् ।
वरिष्ठ गायकको निधनको खबरले आफूले दु:खी तुल्याएको बताएकी छिन् । ‘नेपाली साङ्गीतिक आकाशका उज्जवल नक्षत्र वरिष्ट गायक प्रेमध्वज प्रधानको निधनको खबरले मलाई दु:खी तुल्याएको छ।’
साथै स्वर्गीय प्रधानप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दै नेपाली संगीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहने उल्लेख गरिएको छ ।
नेपाली साङ्गीतिक आकाशका उज्जवल नक्षत्र वरिष्ट गायक प्रेमध्वज प्रधानको निधनको खबरले मलाई दु:खी तुल्याएको छ। स्वर्गीय प्रधानप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु। नेपाली संगीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौं।
— Bidya Devi Bhandari (@PresidentofNP) May 6, 2021
उनको ८४ वर्षका उमेरमा आज निधन भएको हो । छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उनको जन्म काठमाडौंको नःघलमा भएको थियो ।
पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मेका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए ।
उनले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१-२०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै पनि लोकप्रिय छन् । यस्तै यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो जस्ता लोकगीत पनि चर्चित छन् ।