वीरगन्जको नारायणी अस्पतालमा उपचाररत ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुधबार रातीदेखी बिहीबार अहिलेसम्म कोरोनाको संक्रमणबाट वीरगन्जमा थप ६ जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन बिनय श्रीवास्तवले केटिएम दैनिकलाई दिएको जानकारी अनुसार पर्साका २ र रौतहटका ४ जनाको निधन भएको हो ।
बिहीबार बिहान ११ बजेर ३५ मिनेटमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.८ का ५५ वर्षका पुरुषको मृत्यु भएको श्रीवास्तवले बताए । उनी गत बैशाख १५ गते उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएका थिए ।
यस्तै बिहीबार बिहान रौतहट फतेपुरका ६० वर्षकी महिलाको मृत्यु भएको छ । उनको बिहान ११ बजेर १० मिनेटमा नारायणी अस्पतालमा मृत्यु भएको श्रीवास्तवले बताए । बुधबार राति ती महिला उपचारको लागि अस्पतालमा भर्ना भएकोमा एन्टिजेन परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।
यस्तै रौतहट बिजयपुरका ४५ वर्षका पुरुषको कोरोना सँक्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमित पुरुषको उपचारको क्रममा नारायणी अस्पतालमा बिहीबार बिहान ८ बजे मृत्यु भएको हो । उनी बिहीबार बिहान उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । एन्टिजेन परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।
यस्तै अस्पतालमा भर्ना भएका रौतहटको गौर नगरपालिका २ का ५४ वर्षका पुरुषको कोरोना सङ्क्रमणका कारण बिहीबार बिहान ५ बजेर ५ मिनेटमा ज्यान गएको छ । गत बैशाख २१ भर्ना भएका उनमा एन्टिजेन परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
यस्तै बुधबार राति ११ बजेर ३५ मिनेटमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का ७० वर्षका कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । सङ्क्रमित भएपछि गत बैशाख १९ गते उनी अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । यसैगरि बुधबार राति नै ७ बजे रौतहटको गरुडा नगरपालिका वडा नम्बर ३ का ४७ वर्ष पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । गत बैशाख २० गते उनी उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएका थिए ।
यसैबीच बुधबार राति नारायणी अस्पतालमा १ सय ९२ जनाको स्वाब परिक्षण गर्दा थप १ सय ५१ जनामा कोरोना पुष्टि भएको छ ।