यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उहाँको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।
परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएकोमा अहिलेसम्म आएका रिपोर्टमध्ये ७ जनामा संक्रमण देखिएको सभामुखको सचिवालयले जनाएको छ ।
कोरोना पुष्टि भएकाहरूमा जनता समाजवादी पार्टी (जसपा) का तीन र कांग्रेसका एक सांसद छन् । संक्रमण देखिएका सांसदमा जसपाका लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी पार्वती डिसी चौधरी रहेको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार एक उपसचिव र एक जना सुब्बा गरी ३ कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको छ।