कञ्चनपुरको इँटा उद्योगमा एक बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका ८ तिल चौरमा रहेको जगदम्बा इँटा उद्योगमा काम गर्ने एक बालकको कोइला पिस्ने मेसिनमा परी मृत्यु भएको हो। इँटा उद्योगमा ज्याला मजदुरी गर्दै आएका १३ वर्षीय बालक अर्जुन पुजाराको गए राति उद्योगमा काम गर्दै गर्दा कोइला पिस्ने मेसिनमा परी टाउको र शरीर अलग भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले केटिएम दैनिकलाई बताए ।
भीमदत्त नगरपालिका १० बस्ने ती बालक सिद्धनाथ माविमा कक्षा ८ मा अध्ययनरत थिए । तर कोभिड १९ को सङ्क्रमण बढिरहेका कारण विद्यालय बन्द भएपछि एक साता अघिदेखि मात्रै दैनिक ज्यालादारीमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । इँटा उद्योगमा बालकलाई मजदुरी गर्न लगाई बाल शोषण गरेको भन्दै अधिकारकर्मी तथा स्थानीयहरूले उद्योग सञ्चालकको विरोध गरेका छन् भने उद्योग सञ्चालकलाई कानुनी कारबाही र क्षतिपूर्ति नभएसम्म शव नबुझ्ने परिवारजनको अडान छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।