विराटनगर, २२ वैशाख । प्रदेश १ सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने फ्रन्टलाइनरका परिवारलाई २५ लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारले खटाएका जनशक्तिको मृत्यु भए २५ लाख दिने निर्णय गरेको हो ।
बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणका कारण मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिइन् ।
उनका अनुसार बैठकले बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी तथा कर्मचारीहरू संक्रमित भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णयसमेत भएको छ ।
प्रदेश सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, प्रदेश सरकारले सञ्चालन गरेको जनस्वास्थ्य प्रयोगशाला र सरकार मातहतका अस्पतालको कोभिड वार्डमा खटिने फ्रन्टलाइनरलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णयसमेत गरेको छ ।
यस्तै सङ्क्रमित भइ होम आइसोलेसनमा बस्न सक्ने अवस्था नसक्ने कर्मचारीको संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च समेत प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको उनले बताइन् ।