काठमाडौं-नेपाली चलचित्र मा पछिल्लो समय युवा पुस्तामा अत्यन्तै रुचाइएका नायक सलिनमान बानियाको आज जन्म दिन परेको छ ।
उनी आज बाट २६ वर्षमा लागेका छन् । जन्म दिनमा उनलाई शुभकामना दिनेको ओइरो नै लागेका छ । पहिलो चलचित्रबाट नै आफूलाई स्टारको रुपमा परिचित गराएका सलिनमान अभिनित पछिल्लो फिल्म यात्रामा काम गरेका हुन् ।
उनको जिवनको रोचक प्रसङ्ग
शुरुमा उनलाई एउटा फिल्म खेलेपछि नै सलिनमानलाई थकान लाग्यो । थकान यसकारण कि, अभिनय गर्न औधी गाह्रो । अभिनय मात्र होइन, छायाँकनको बेला पहाडको बाटो उकाली-ओराली गर्नुपर्ने ।
काठमाडौंको न्युरोडमा हुर्किएको ठिटो, पहाडको भिरालो छिचोल्नुपरेपछि आत्तिए । सधै टिपटप भएर बस्नुपर्ने ठिटो, हप्तौ धुलोफुस्रो भएर हिँड्नुपरेपछि बिच्किए । सफाचट शौचालय धाइरहनुपर्ने ठिटो, दिसा-पिसाबको लागि जंगल चहार्नुपरेपछि छट्पटिए ।
उनलाई लाग्यो, हिरो हुनु दुःखको कुरा हो । साथसाथै के पनि लाग्यो भने, फिल्म खेल्ने काम रहरले मात्र पुग्दैन । उनले रहर त्यागिदिए ।
काठमाडौंको हुनेखाने रैथानेका छोरो । कलकलाउँदो बैंश । खाने-खेल्ने उमेर । मोज-मस्तीमा रमाउने मन । उनलाई फिल्म खेल्ने कुरा ‘झ्याउ’ लाग्यो । पहिलो फिल्मले ग्ल्यामर-मोह त जगाइदिएको थियो तर, उनलाई मरिहत्ते गरेर लाग्ने जाँगर चलेन । उनले आफ्नो यात्रा यहीँ पूर्णविराम लगाउने सोच पनि बनाए । यद्यपि निर्देशक सम्राट शाक्यले उनलाई थप यात्राका लागि उक्साए र अभिनय यात्रामा निरन्तरता दिए ।