जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभरि निषेधाज्ञामा कडाइ गर्ने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले गत शनिबारदेखि जारी गरिएको निषेधाज्ञा कार्यान्वयन नभएको भन्दै अब झन् कडा बनाउने जानकारी दिए ।
कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गत शनिबार रातिदेखि २५ वैशाखसम्म लागू हुनेगरी विराटनगर महानगरपालिकासहित मोरङका केही स्थानमा निषेधाज्ञा लगाइएको छ । कोरोनाका कारण बढी प्रभावित विराटनगर महानगरपालिका, बूढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिकाकाको वडा नम्बर १, २, ३, र ४ तथा भारत र सुनसरी जिल्लासँग जोडिएको सीमा क्षेत्रहरूमा निषेधाज्ञा लगाइएको छ ।
तर उक्त आदेशको प्रभावकारी कार्यान्वयन नभएको र छिमेकी जिल्लाहरूले पूर्ण रूपमा निषेधाज्ञा जारी गरेपछि मोरङमा पनि त्यसको दबाब परेको प्रजिअ निरौलाको भनाइ छ । छिमेकी जिल्लाहरूले जिल्लाभरि नै लागू हुनेगरी कडाइका साथ पूर्ण निषेधाज्ञा गरेपछि मोरङमा पनि जिल्लाभरि नै निषेधाज्ञा आदेश गर्ने तयारी भइरहेको जानकारी दिए ।
यसअघि जिल्ला प्रशासन कार्यालय झापाले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको वैठकको निर्णयअनुसार बुधबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म पूर्ण रूपमा निषेधाज्ञा गर्ने आदेश गरेको छ ।
यता, सुनसरीमा पनि वैशाख ३१ गतेसम्म लागू हुनेगरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार मङ्गलबार बसेको डिसिसिएमसीको बैठकले जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरेको हो ।
उनले आजबाट लागू हुनेगरी वैशाख ३१ गतेसम्म पूर्ण निषेधाज्ञा जारी भएको बताउँदै जोर–बिजोर प्रणालीसमेत हटाएको बताए । यस्तै अत्यावश्यकबाहेक हिँडडुलमा रोक लगाउँदै निषेधाज्ञा कडा बनाएको उनको भनाइ छ ।