कैलालीको धनगढी उपमहानगरपालिकामा पछिल्ला दिनहरूमा कोरोना संक्रमित दर उच्च बनेको छ । धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरण अनुसार सोमबारसम्म उपमहानगरपालिकाभित्र सक्रिय संक्रमितहरूको संख्या आठ सय ८४ पुगेको छ ।
कैलाली जिल्लाको कोरोनाको कुल सक्रिय संक्रमितको संख्याको तुलनामा उपमहानगरपालिकामा संक्रमित दर ७० प्रतिशत रहेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांक अनुसार कैलालीमा मगलवार सम्म एक हजार दुई सय ८६ सक्रिय कोरोना संक्रमित रहेका छन् ।
धनगढी उपमहानगरपालिकामा पछिल्लो सात दिनको अवधिमा छ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार बैशाख १४ मा एक सय २७ जना नयाँ संक्रमित थपिएका थिए ।
त्यस्तै, बैशाख १५ गते एक सय ४२, १६ गते एक सय १०, १७ गते ४८, १८ गते ८७, १९ गते एक सय एक र २० गते ५३ जना नयाँ संक्रमित थपिएका छन् । धनगढी उपमहानगरपालिकाका अनुसार वडा नम्बर ५ मा सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । वडा नम्बर ५ मा एक सय ४५ पुरुष र ७४ महिला गरी दुई सय १९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै, वडा नम्बर १ मा ९२ पुरुष र ५३ महिला गरी एक सय ४५ सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणबाट हालसम्म उपमहानगरपालिकाभित्र २२ जनाको मृत्यु भइसकेको छ । उपमहानगरपालिकाभित्र हालसम्म नौ हजार आठ सय ६० स्वाव संकलन गरिएको जनाइएको छ । हालसम्म उपमहानगरपालिकामा तीन हजार छ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
उपमहानगरपालिकामा भयावह रुपमा फैलदै गए पनि नियन्त्रण तथा रोकथामका लागि उपमहानगपालिकाको काम भने सुस्त गतिमा रहेको छ । उपमहानगरपालिकाले संक्रमितको तथ्यांक संकलन गर्न बाहेक अन्य काम गर्न नसकेको स्वास्थ्य शाखाले स्वीकार गरेको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अहेव लक्ष्मीराज उपाध्यायले भने अहिलेसम्म सिमानाकामा होल्डिङ सेन्टर स्थापना गरिएको छैन । संक्रमितको उपचारका लागि आइसोलेसन पनि छैन । भारतबाट फर्केकाहरूको सिमानाकामा एन्टिजेन परिक्षणबाट पोजेटिभ आए उपमहानगरपालिकाको वडा नम्बर १५ कनरीस्थित आइसोलेसनमा राखेर पठाउने गरिएको छ । तर होम आइसोलेसनमा रहेका व्यक्तिहरूको निगरानी गर्ने कुनै संयन्त्र नै बनेको छैन ।
उनले भने हाल कनरीस्थित आइसोलेसनको व्यवस्थापनको जिम्मा जिल्ला स्वास्थ्य कार्यालयले लगेको छ । उपमहानगरपालिकाले सिमानाकामा कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिहरूलाई आइसोलेशन सेन्टरसम्म पुर्याउन एक गाडी र एम्बुलेन्सको व्यवस्था गरेको छ ।
उपमहानगरपालिकाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका प्रयासहरू अघि बढाउन वडा नम्बर ८ का अध्यक्ष नारायण बराललाई गत वर्ष कोभिड–१९ का सम्पर्क व्यक्ती तोकेको थियो । वडा अध्यक्ष बरालले भने– यस वर्ष हामीले कोरोना संक्रमितको तथ्यांक लिने, सिमानाकामा कोरोना पोजेटिभ पुष्टि भएकाहरूलाई कनरी आइसोलेशनमा पुर्याउने बाहेक अरु काम गर्न सकेका छैनौं ।
धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले अहिले उपमहानगरपालिकाले कोभिड नियन्त्रणका लागि भनरै कुनै रकम विनियोजन नगरिएको जानकारी दिए ।
उनले भने उपमहानगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषबाटै आवश्यकता अनुसार कोरोना नियन्त्रणका लागि रकम खर्च गरिने छ ।
उनका अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ मा विपद व्यवस्थापन कोषमा एक करोड १२ लाख ७१ ह्जार एक सय ४० रुपैया विनियोजन गरेकोमा हालसम्म ६९ लाख ३० हजार आठ सय २२ रकम खर्च भइसकेको छ । उनले भने यो रकम कोरोना नियन्त्रण तथा संक्रमण रोकथामका लागि खर्च भएको हैन । विपद सामग्री खरिद र आगलागीबाट पीडित भएका व्यक्तिलाई राहत लगायतमा खर्च भएको हो ।उनले बाँकी रहेको ४३ लाख ४० हजार दुई सय १८ रुपैयाँ पनि विपदका लागि नै खर्च हुन सक्ने प्रतिक्रिया दिए ।
उपमहागनरपालिकाले गत आर्थिक वर्ष २०७६÷७७ मा ससर्त अनुदान अन्तर्गत २६ लाख ५० हजार रुपैया विनियोजन गरिएकोमा पाँच लाख २५ हजार र निसर्त अनुदान अन्तर्गको एक करोड दुई लाख रुपैया विनियोजन गरेकोमा ९५ लाख ८७ हजार पाँच सय ८० रुपैया खर्च भएको जनाइएको छ ।
उपमहानगरपालिकाले गत वर्ष कोरोना नियन्त्रणका लागि भनेर स्थापना गरेको कोषमा व्यक्ति तथा संस्थाबाट १२ लाख रुपैया बढी रकम सहयोग संकलन गरेको थियो । सो रकम आइसोलेशन व्यवस्थापन, सरसफाई सामग्री खरिद, क्वारेन्टिन सेन्टरमा रहेकाहरूको खानाको व्यवस्था लगायतमा खर्च भएको जनाइएको छ ।