कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि मोरङमा गत शनिबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोनाका कारण विराटनगर महानगरपालिका सबैभन्दा बढी प्रभावित बनेको थियो । यसैलाई ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधाज्ञाको विराटनगरसहित मोरङ जिल्लाका अन्य स्थानमा आदेश जारी गरेका हुन् ।
विराटनगरको निषेधाज्ञामा सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा पारेका छन् । विराटनगरका विभिन्न चोकमा खटिएका सशस्त्र प्रहरी बल, नेपाल पुलिसलगायत सुरक्षाकर्मीले बाटोमा आवागमन गर्नेलाई चेकजाँच गर्नुका साथै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न निर्देशन दिइरहेका हुन्छन् ।
निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरू खरिद–बिक्री गर्न छुट छ । त्यस्ता पसल पनि खुला गर्न दिइएको छ । औषधि पसललाई २४सै घण्टा तथा अत्यावश्यक खाद्यवस्तु र तरकारी पसललाई बिहान दस बजेसम्म तथा बेलुकी पाँच बजेदेखि उताको समयमा खोल्न दिइएको छ ।
तर विराटनगरको बजारमा भने दृश्य अनौठो देख्न सकिन्छ । विराटनगरका प्रायः सर्टरहरू आधा खुल्ला हुन्छन् । सुरक्षाकर्मीलाई देख्दा सर्टर पुरै बन्द गरिन्छ । सुरक्षाकर्मीलाई नदेख्दा पुनः पसल आधा खुल्छ । यसरी आधा पसल खोल्नेमा कपडालगायतका फेन्सी स्टोरहरू देखिएका छन् ।
भाडा तिर्न आधा सर्टर खुला
विराटनगर–३ बुद्धचोकका एक फेन्सी स्टोरका व्यापारी प्रहरीसँग लुकामारी खेल्दै सर्टर बन्द गर्ने र खोल्ने काम गरिरहेका थिए । प्रहरीको गाडी साइरन बजाउँदै आउँदा उनले सर्टर झारे र गएपछि पुनः सर्टर खोलेर बसे । उनका पसलमा खासै ग्राहकको घुइँचो थिएन । फाट्ट–फुट्ट ग्राहकको उपस्थितिमा स्वास्थ्यको मापदण्ड पालना गरेरै सामग्री बेचिरहेका थिए उनी ।
पसल खोल्नु बाध्यता रहेको उनले बताए । ‘दोकान खोले पनि नखोले पनि भाडा तिर्नुपर्छ’, उनले भने, ‘आधा मात्र भए पनि सर्टर खोलेर सामग्री बेचिरहेको छु । तर प्रहरीसँग लुकामारी खेल्दै समान बेच्नुपर्छ । नत्र प्रहरीले धेरै गाली गर्छन् । सर्टरमा लाठी बजाउँछन् ।’ मास्क र सेनिटाइजर अनिवार्य गरेर सामाजिक दूरीका साथ समान बेच्नेगरेको उनी बताउँछन् ।
अटेर गर्ने १३ व्यापारी पक्राउ
मङ्गलबार मात्रै निषेधाज्ञा अटेर गरेर पसल खोल्ने विराटनगरका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थिो । नियन्त्रणमा लिएकाहरूलाई दिनभरि राखेर सम्झाइ–बुझाइ गरी बेलुका छोडिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले दिउँसो पसल खोल्नेहरूलाई नियन्त्रणमा लिएको थियो ।
यस्तै प्रहरीले निषेधाज्ञामा पनि स्थानीय प्रशासनको आदेश नमानी बिनाकाममा घरबाट निस्किने, सवारी साधन चलाउने र पसलहरू खोल्नेलाई प्रहरीले कडा कारवाही गर्न थालेको एसपी खड्काले जानकारी दिए ।
विराटनगरमा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या १७ सय ५३ पुग्यो
विराटनगरमा मङ्गलबार साँझसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १७ सय ५३ पुगेको छ । जसमध्ये २८२ जना विराटनगरका तीन अस्पतालमा उपचाररत छन् भने अन्य होम आइसोलेसनमा रहेका छन् ।
विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक हैदर अलीका अनुसार विराटनगरको नोबेल मेडिकल कलेजको कोरोना उपचार केन्द्रमा बेड भरिएका छन् भने कोसी कोभिड अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालको कोभिड उपचार केन्द्रमा केही बेड खाली छन् ।
नोबेलमा रहेको १०४ वटै शैय्यामा बिरामी छन् । ९६ बेड भएको कोसी कोभिड उपचार केन्द्रमा ५० बेड खाली छन् भने बूढीगङ्गास्थित विराट अस्पतालमा ३० बेड खाली छन् । विराटमा १६२ बेड क्षमता छ ।