नेपाली युवा क्रिकेटर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को अप्रिल महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।
नेदरल्यान्ड्स र मलेसियाविरुद्धको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कुशल आइसिसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन् । उक्त सिरिजमा कुशलले पाँच खेल खेल्दै २७८ रन बनाएका थिए । कुशलले अघिल्लो साता नेपालको टि–२० आई टोलीबाट डेब्यू गर्दै विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए । उनले डेब्यू सहित लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए ।
कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो टि२० आई खेलाडीसमेत हुन् । फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । कुशलसँगै पाकिस्तान बाबर अजाम र फकर जमान पनि यो मनोनयनमा परेका छन् । आइसिसीले यसै वर्षबाट सुरु गरेको महिनाको उत्कृष्ट खेलाडीमा नेपाली खेलाडी परेको यो पहिलो पटक हो ।
यस्तै, पाकिस्तानका दुई खेलाडी परेको पनि पहिलो पटक हो ।