इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी पहिलो पटक युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । मङ्गलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै प्रिमियर क्लब सिटी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
पिएसजीविरुद्धको दोस्रो लेगको खेलमा २–० गोल र समग्रमा ४–१ को नतिजासहित सिटी फाइनल पुगेको हो । यसअघि पहिलो लेगको खेलमा सिटीले २–१ गोलको जित निकालेको थियो ।
सिटीको मैदानमा घरेलु टोलीलाई जिताउन रियाद महरेजले दुई गोल गरे । उनले खेलको ११औँ र ६३औँ मिनेटमा गोल गर्दै सिटीलाई उपाधि नजिक पु¥याए ।
पिएसजीले १० खेलाडीमा सीमिति रहँदै खेलको अन्त्य गरेको थियो । एन्जल डी मारिया रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पिएसजी खेलाडीमा सीमित बनेको थियो ।
यसअघि सिटीले फाइनलमा स्थान बनाउन सकेको थिएन । सिटी पछिल्लो तीन सिजन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पराजित हुँदै आएको थियो । सिटीले सन् २०१६ मा सेमिफाइनल खेलेको थियो । तर, पिएसजीलाई हराएर फाइनल पुग्दै सिटीले नयाँ उपलब्धि हासिल गरेको हो ।
अब सिटीले फाइनलमा रियल म्याड्रिड र चेल्सीबीचको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ । रियल र चेल्सीले आज राति दोस्रो लेगको खेल खेल्दैछन् । फाइनल खेल भने टर्कीको इस्तानबुलमा मे २९ मा हुनेछ ।