विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ नँया भेरियन्ट सहितको दोस्रो लहरको संक्रमण तथा रोगका कारण मृत्यु हने संख्या दिनानुदिन तिब्ररुपमा बढिरहेको बेला विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
तीव्र संक्रमणको साङ्लो तोड्नको लागि ५१ जिल्लाले निषेधाज्ञा जारी गरिसकेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको सूचनामा अध्यावधिक नभएको जुम्ला जिल्लामा पनि निषेधाज्ञा जारी भैसकेको छ । यसरी हेर्दा निषेधाज्ञा जारी भएका जिल्लाको सङ्ख्या ५२ पुग्छ ।
मन्त्रालय मङ्गलबार बेलुका ८ बजेसम्मको अध्यावधिक विवरण भन्दै जारी गरेको सूचीमा बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, गोरखा, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, म्याग्दी र तनहुँ गरी १२ जिल्लामा आंशिक र ३९ जिल्लामा पूर्णरुपमा लकडाउन गरिएको छ ।
काठमाडौं उपत्यकामा तीन जिल्लामा बैशाख २९ गते राति १२ सम्म लकडाउनको अवधी बढाइएको छ । गृह मन्त्रालयको सूचनामा काठमाडौं जिल्लामा मात्रै लकडाउनको अवधि बढेको उल्लेख भएतापनि भक्तपुर र ललितपुरमा जिल्ला प्रशासन कार्यालयले समेत सूचना जारी गरेर निषेधाज्ञाको अवधि बढेको बताएका छन् ।
गृह मन्त्रालयको तथ्यांक आफैमा अध्यावधिक छैन । सुनसरी जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै लकडाउनको अवधि बढाएर वैशाख ३१ गते मध्यरातसम्म पुर्याएको छ साथै यसअगाडी सवारीसाधनमा लगाएको जोर विजोर प्रणाली हटाउँदै अत्यावश्यक बाहेकका सवारी साधनहरुको सञ्चालनमा रोक लगाएको छ ।
यस्तै गरी झापा जिल्लामा पनि निषेधाज्ञाको अवधि बढेको छ तर मन्त्रालयको सूची अध्यावधिक भएको देखिदैन । झापामा वैशाख ३१ गतेसम्म लकडाउन बढाइएको छ भने यसअघि लगाइएको लगाइएको जोर विजोर प्रणाली हटाउँदै अत्यावश्यक बाहेकका सवारी साधनहरुको सञ्चालनमा रोक लगाएको छ ।
त्यस्तै जुम्ला जिल्लामा निषेधाज्ञा जारी भएतापनि गृह मन्त्रालयको तथ्यांकमा सो उल्लेख गरिएको छैन ।