मोरङको रतुवामाई नगरपालिकामा मृत अवस्थामा भेटिएको महिलाको पहिचान खेलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार गत आइतबार मकैबारीमा मृत अवस्थामा भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको हो ।
उनी मोरङ कानेपोखरी–१ होक्लाबारी घर भएकी ३२ वर्षीया सरिता सोरेन रहेको खुलेको हो । पोस्मार्टममा राखिएको शव मृतकका बाबु धनबहादुर सोरेन छोरीको पहिचान गरेको डिएसपी राईले जानकारी दिए ।
आइतबार बिहान रतुवामाई–६ स्थित सिंहगिरी भन्ने स्थानमा रहेको मकैबारीमा सोरेनको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले हत्या गरी शव फालेको आशङ्का गरेको थियो । डिएसपी राईका अनुसार शवलाई पोष्टमार्टमका लागि आइतबार नै कोसी अस्पताल विराटनगर ल्याइएको थियो । पोस्टमार्टम भइसके पनि रिपोर्ट आउन बाँकी रहेको राईले बताए ।
डिएसपी राईका अनुसार घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको छ । महिलाको शरीरमा चोटपटक लागेकाले प्रहरीले बलात्कारपछि हत्या गरेको आशङ्का गरेको छ । महिलाले लगाएको कपडा च्यातिएको र माथि सुर्किएका कारण बलात्कार भएको हुनसक्ने प्रहरी स्रोतको दाबी छ ।
मृत अवस्थामा भेटिएकी सरिता कानेपोखरी–२ स्थित योगेन्द्र थापाको गाई फार्ममा काम गर्दै आएकी थिइन् । शनिबार बिहान विवाहमा जान्छु भनेर उनले शुक्रबार नै गाई फर्मबाट बिदा लिएकी थिइन् । शनिबार काममा नगएकी उनको शव आइतबार घाँस काट्न गएका रामप्रसाद भण्डारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सरिता विवाहित हुन् । उनको श्रीमानको मृत्यु भइसकेको छ । उनको एक जना छोरा छन् ।