छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको कूल संख्या २ करोड नाघेको छ । भारतमा विकास भएको भनिएको नयाँ भेरियन्टको भाइरस विश्वका १७ देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
खुल्ला सिमानाका कारण नेपालमा पनि यसको असर देखिन थालेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले भने भारतमा कोरोना सङ्क्रमणको सङ्ख्या निकै धेरै भएको तर सरकारले सार्वजनिक नगरेको बताइरहेका छन् ।
वितेको २४ घन्टामा भारतमा कोरोनाभाइरसका ३ लाख ५७ हजार संक्रमित थपिएका छन् । योसहित भारतको कूल संक्रमित संख्या २ करोड नाघेको छ ।
कोरोनाबाट विश्वमै प्रभावितमध्येको दोस्रो मुलुक भारतमा ३ लाखभन्दा बढी संक्रमित निरन्तर थपिएको यो १३ औं दिन हो । पछिल्लो २४ घण्टामा ३ हजार ४४९ संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले सक्रिय सङ्क्रमितको सख्या ३४ लाख ४७ हजार छ जुन कूल सङ्क्रमितको १७ प्रतिशत हुन आउँछ ।
भारतमा कूल सङ्क्रमितमध्ये ८१ दशमलव ९१ प्रतिशत निको भएका छन् भने १ दशमलव १० प्रतिशतले ज्यान गुमाएका छन् । सङ्ख्यात्मक रुपमा हेर्दा ज्यान गुमाउनेको संख्या २ लाख २२ हजार ४०८ पुगेको छ ।