विराटनगरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या भयावह अवस्थामा बढ्दै गइरहेको छ । कोरोना भाइरस संक्रमणका कारण प्रदेश नं १ आक्रान्त बन्दै जानुमा सीमा क्षेत्रबाट हुने आवत–जावतलाई प्रमुखताका साथ हेरिएको छ । कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास सीमानाकामा हुने आवत–जावतका कारण पनि प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बताउँछन् ।
प्रदेश १ सरकारले भारतसँगको सीमानाकामा कडाइ गरिरहेको जनाएको छ । प्रदेश १ सरकारले नेपालबाट भारत र भारतबाट नेपाल आवतजावतका लागि मोरङको जोगवनी, सुनसरीको भान्टाबारी, झापाको काँकडभिट्टा र भद्रपुर, इलामको पशुपतिनगर नाका तोकिदिएको छ । ती नाकाबाहेक अन्यत्रबाट प्रवेश गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ ।
तर सीमामा खुल्ला रूपमा मानिसहरू आउने–जाने क्रम भने रोकिएको छैन । विराटनगर–१५ दरैयास्थित दशगजा क्षेत्रबाट भारततर्फ आवत–जावत गर्नेको सङ्ख्या उत्तिकै देखिन्छ । त्यसबाहेक भारतसँग खुला सीमा जोडिएका विराटनगरका इस्लामपुर, मटिहर्वालगायतका ठाउँबाट मानिसहरू लुकिछिपी आवत–जावत गरिरहेका छन् ।
खुला सिमानाको आवत–जावत रोक्न सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइँदा पनि सुरक्षाकर्मीको बाक्लो उपस्तिथितिका बीच पनि आवत–जावत रोकिएको छैन । केही दिनअगाडिको तुलनामा भिडभाड कम भएपनि आवत–जावत नरोकिएको स्थानीय सुमन बस्नेतले बताए । अझ, तस्करी गर्नेलाई प्रहरीले नै केही रकम लिएर आवत–जावतमा सहयोग गरिरहेको दरैयाका स्थानीयको आरोप छ । सीमामा खटिएका सुरक्षाकर्मीले पैसा लिएर भारतबाट आउनेलाई नेपाल भित्र्याउने गरेको आरोप उनीहरूको छ ।
दरैयास्थित दशगजा क्षेत्रबाट भारततर्फ आवत–जावतका लागि एक सुरक्षाकर्मीले प्रतिव्यक्ति ५० देखि एक सय रुपैयाँ लिएर सीमावारि ल्याइदिने गरेको प्रत्यक्षदर्शी बताउँछन् । यता, जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले भने अहिले विपद्को अवस्थामा यस्ता हल्ला चलाइनु गलत भएको बताएका छन् ।
‘यस्तो हल्लाले सुरक्षाकर्मीको मनोवल घट्न सक्छ’, एसपी खड्काले केटिएम दैनिकसँगको कुराकानीमा भने, ‘यति रकम लिएर नेपाल प्रवेश गराएको भेटिएमा तुरुन्त कारबाहीको दायरामा ल्याउँछौँ । तर मलाई जहाँसम्म लाग्छ केही ब्यापारीले प्रहरीलाई झुटो आरोप लगाएको हो ।’