विराटनगरका निजी कोरोना अस्पतालका बेड भरिएका छन् । विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक हैदर अलीका अनुसार कोरोना सङ्क्रमितको उपचार गरिरहेका विराटनगरका दुवै अस्पतालका बेड भरिएका छन् ।
हाल विराटनगरका निजी अस्पतालद्वय नोबेल शिक्षण अस्पताल र विराट मेडिकल कलेजले कोभिड अस्पतालका सञ्चालन गरिरहेका छन् । तर दुवै अस्पतालका बेड भरिएपछि संक्रमितको उपचारका लागि शैय्या पाउन मुस्किल परेको छ ।
नोबेल मेडिकल कलेजले शनिबार बेलुकादेखि बेड अभावका कारण सङ्क्रमित भर्ना गरेको छैन । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार विराटनगर–४ स्थित नोबेलको कोभिड अस्पतालमा जम्मा १०४ बेड छन् । त्यसमध्ये ८४ बेड भरिएका छन् । अब, २० शैय्या मात्र उपलब्ध भए पनि आज बेलुकासम्मकै भरिनसक्ने दाहालले बताए ।
यसैगरी विराट मेडिकल कलेजले भने शुक्रबारदेखि नै नयाँ बिरामी भर्ना लिएको छैन । कलेजको आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार विराटमा शुक्रबारबाटै बेड भरिएको थियो । विराटको कोरोना उपचार केन्द्रमा १२० बेड छन्। त्यसमध्ये १०६ सर्वसाधारण र १४ जना अस्पतालकै कर्मचारी भर्ना रहेका छन् ।
यता, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भने अब ६१ बेड खाली छन् । गम्भीर अवस्थाका बिरामी राखिने ती बेडमा विरामीका आफन्तले तारान्तर फोन गरिरहेको छन् । हालसम्ममा विराटनगरका तीन अस्पतालमा मात्र २२७ संक्रमित उपचाररत छन् ।