झापाको भद्रपुरबाट काठमाडौंसम्मको हवाई उडानको भाडादर इतिहासकै सस्तो भएको छ ।
शनिवारको भद्रपुर–काठमाडौं उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले १५०० रुपैयाँ, यति एयरले १३९५ रुपैयाँ, सौर्य एयरले १४०० रुपैयाँ र श्री एयरले १४०० रुपैयाँ तोकेको छ ।
कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च विन्दुमा पुगिरहेको बेला भद्रपुरबाट राजधानी जाने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो । सामान्यतया भद्रपुर–काठमाडौंको भाडादर न्यूनतम् ३ हजार रुपैयाँ रहने गरेको छ । ‘कोरोनाको सङ्क्रमणको त्रास बढेको कारण राजधानी जाने क्रम ह्वात्तै घटेको छ भने काठमाडौंबाट आउनेहरुको भने चाप बढेको छ ।’ काठमाडौंबाट भद्रपुर आउँदाको हवाई भाडादर बढेर ४ हजार देखि ९ हजार २५० रुपैयाँसम्म पुगेको छ ।
भद्रपुरको चन्द्रगढी विमानस्थल २०२८ सालमा स्थापना भएको हो । तर २०३० सालमा आन्तरिक कारणबाट विमानस्थल बन्द भयो । त्यसपछि एकैचोटी २०४८ साल चैत १८ गते मात्र विमानस्थल खुलेको थियो । २०४८ सालमा विमानस्थल खुलेको पहिलो दिन १ हजार ७८० रुपैयाँमा शाही नेपाल वायु सेवा निगमको जहाजको टिकट काटेको थियो । त्यसैले आज कायम भएको भद्रपुर–काठमाडौं रुटको भाडादर इतिहासमै सबैभन्दा सस्तो हो ।
कोभिड–१९ को महामारी र निषेधाज्ञाको अवस्थाका कारण यात्रु घटेको जनाउँदै एयरलायन्सहरुले हवाई उडान समेत कटौति गर्न थालेका छन् । शुक्रवारदेखि भद्रपुर–काठमाडौं रुटमा बुद्ध एयरले दैनिक पाँच उडानमध्ये दुई उडान कटौति गरिसकेको छ । यति एयरले तीन उडानमध्ये एउटा कटौति गरेको छ । श्रीएयरका दुई र सौर्य एयरको दैनिक एक उडान कायमै छ ।
यस अघि हरेक दसैं–तिहारका बेला काठमाडौंबाट आउने यात्रु अत्यधिक हुने तर जाने यात्रु घट्ने भएका कारण हवाई सेवा प्रदायक कम्पनीहरुले भद्रपुर–काठमाडौंको भाडादर घटाएर १६०० रुपैयाँसम्म पुर्याउने गरेका थिए ।