साँखु अर्थात् संखरापुरमा करिब ९०० वर्ष भन्दा पुरानो जात्रा आज बाट सुरु भएको छ । राजा शङ्खदेवले कालिगड सम्बत १८०१ मा संखरापुर बस्ती “हालको साँखु” बसालेको भन्ने इतिहास रहेको पाइन्छ । राजा शङ्खदेवले बस्ती बसालिसकेपछि कालिगड सम्बत १८१८ बाट बज्रयोगिनीको जात्रा सुरु भएको मान्यता रहिआएको छ ।
हरेक चैते दशै पश्चात लाग्ने यो मेलामा शंखरापुर नगरको उत्तरतिर मणिचुड पर्वतस्थित गुँ विहार (बज्रयोगिनी मन्दिर)बाट बज्रयोगिनीको मुर्तिसँगै चिभा:द्य: (प्राचिन स्वयम्भु चैत्य), सिंहमुखी, बाघमुखी मुर्तिलाई खटमा बोकेर साँखु बस्तीमा ल्याउने गरिन्छ।
आज बजारमा ल्याइएको बज्रयोगिनीको खटलाइ साँखु स्थित चलाखु टोलमा ४ दिन राखेपछी बजार परिक्रमा गराइने चलन रहिआएको छ । बज्रयोगिनी क्षेत्रलाई बज्राचार्यहरुको उत्पत्ति थलो समेत मानिन्छ ।
काठमाडौँबाट २० किलो मिटर टाढा रहेको यस मन्दिरमा हजारौँ भक्तजनहरू दर्शन गर्न आउँछन् । यस मन्दिर परिसरमा अनेकौँ देवी देवता रहेको छ । यो मन्दिर धार्मिक तथा पुरातात्त्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ ।
काठमाडाैं, भक्तपुर र ललितपुरबाट दरशानार्थीको घुइँचो लाग्ने यो मेलामा ८ दिनसम्म विभिन्न स्थानबाट देवी देवताका प्रतिमालाई रथमा राखी साँखु ल्याइन्छ। अग्लो स्थानमा अवस्थित बज्रयोगिनीको मन्दिरबाट रथहरु ओरालोमा गुडाउँदाको दृश्य रोमाञ्चक देखिन्छ।
वंशावलीमा उल्लेख भएअनुसार कलिगत सम्बत १८०१ तिर बज्रयोगिनीको आज्ञा अनुसार जोगदेव बज्राचार्यको तत्त्वावधान दाहिने शङ्ख आकारको साखु नगर स्थापित भएको हो । त्यसै बेलादेखि पूजा स्थिर गर्न चैत पूर्णिमादेखि आठ दिनसम्म साखु नगरमा जात्रा चलाइँदै आइरहेको छ । यहाँ भएको बौद्ध चैते काठमाडौँको बौद्ध स्तुपाभन्दा पनि पुरानो मानिएको छ ।
पहिले यस चैतेलाई धर्म धातुको रूपमा लिइन्थ्यो भने कलियुगमा जोगेश्वरको रूपमा पुज्ने गरिन्छ । बज्रयोगिनी माताको धर्मशालामा बालिएको आगोलाई सत्य युगको आगोमा रूपमा लिइन्छ । यो अखण्ड आगोबाट बनेको विभुद लगाएमा केटाकेटीलाई कसैको आँखा नलाग्ने तथा भूतप्रेतले लाग्न नसक्ने जनविश्वास रही आएको छ ।
हेरौं तस्विरहरु