कर्णाली प्रदेश सरकारले कोभिड–१९ का जटिल बिरामीको सेवाका लागि सुगममा एम्बुलेन्स र दुर्गम जिल्लामा हेलिकप्टरको व्यवस्था गर्ने निर्णय गरेको छ।
कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी)का संयोजक तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले कोभिडमा आइपर्ने सङ्कट व्यवस्थापनका लागि कम्तीमा १० वटा एम्बुलेन्स भाडामा लिई सञ्चालन गर्ने र विकटमा हेलिकप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो।
बैठकले कर्णाली प्रदेशअन्तर्गत कोभिड अस्पतालका लागि २४ सै घण्टा विद्युत् आपूर्तिको व्यवस्थाका लागि नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री विमला केसीले जानकारी दिइन्।
त्यसैगरी, कोरोना रोग नियन्त्रण तथा उपचारका लागि खरिद गर्न आवश्यक स्वास्थ्य सामग्री विशेष परिस्थितिअनुरूपको प्रक्रिया अपनाई खरिद गर्न स्वीकृति दिनका लागि सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरिएको मन्त्री केसीले बताइन्।
उनका अनुसार कोभिड संकट व्यवस्थापनका लागि आवश्यक जनशक्ति र बजेटसहित एकीकृत सेवा व्यवस्थापन गरी ठोस योजना बनाई विस्तृत प्रस्ताव तयार गर्ने र अर्को बैठकमा पेश गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउनु पर्नेछ।
त्यस्तै, कोभिड आइसोलेसनका लागि आवश्यकतानुसार निजी क्षेत्रका होटललाई सुरक्षा मापदण्डसहित उपयोग गर्ने, दिनप्रतिदिन फैलिँदै गएको कोरोना नियन्त्रण तथा उपचार गर्न औपचारिक कार्यक्रमका लागि २५ र अनौपचारिक कार्यक्रममा पाँचभन्दा बढी भेला हुन नदिन र कोभिड सुरक्षा सतर्कता अपनाउन नागरिक तहसम्म प्रचारप्रसार गर्ने र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत सुरक्षा निकायले कडाइका साथ पालना गर्ने व्यवस्था मिलाउने निर्णय भएको उनले बताइन्।
कोभिड बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउन कोभिडसम्बन्धी विशेष अस्पताललाई सामाजिक विकास मन्त्रालयले आवश्यक सहयोग र निर्देशन दिने, एम्बुलेन्सहरूको सेवा दिने स्थल छनोट गर्ने र सेवा प्रदायक संस्थाको छनोट प्रक्रिया निर्धारण गरी जिपिएसमार्फत् एम्बुलेन्स सेवा व्यवस्थापन प्रणाली एप्स सञ्चालन गर्ने गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ।
यस्ता छन् निर्णयहरु
१. कोरोना रोगको नियन्त्रण तथा उपचारको लागि खरिद गर्न आवश्यक स्वास्थ्य सामाग्रीहरु विशेष परिस्थित अनुरुपको प्रकृया अपनाइ खरिद गर्न स्वीकृति लिनको लागि सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् मा प्रस्ताव पेश गर्ने।
२. कोभिड संकट व्यवस्थापनको लागि आवश्यक जनशक्ति पूर्ति गर्न, कोभिड संकट व्यवस्थापनका लागि आवश्यक बजेट सहित एकीकृत सेवा व्यवस्थापन गर्ने तथा कोभिड संकट व्यवस्थापन सम्बन्धी ठोस योजना बनाइ विस्तृत प्रस्ताव तयार गर्ने र अर्को बैठकमा पेश गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने ।
३. कर्णाली प्रदेश भित्र सञ्चालन हुने एम्वुलेन्सहरुको सेवा दिने स्थल छनौट र सेवा प्रदायक संस्थाहरु छनौट प्रकृया निर्धारण गरी GPS मार्फत एम्वुलेन्स सेवा व्यवस्थापन प्रणाली (Ambulance Serve Management Information System ) को एप्स सञ्चालन गर्ने गराउने सम्बन्धमा श्री सामाजिक विकास मन्त्रालयले आवश्यक कार्य गर्ने ।
४. कोभिड बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउन कोभिड सम्बन्धी विशेष अस्पतालहरुलाई सामाजिक विकास मन्त्रालयले आवश्यक सहयोग र निर्देशन गर्ने ।
५. कोरोना रोगको संक्रमण दिन प्रतिदिन समुदायमा फैलिसकेकोले यसको नियन्त्रण र उपचारको लागि अब कठीन अवस्था सिर्जना हुने भएकोले औपचारिक कार्यक्रममा बढीमा २५ जना र अनौपचारिक कार्यक्रममा बढीमा ५ जना भन्दा बढी भेला हुन नदिन र कोभिड सम्बन्धी सुरक्षा सतर्कता अपनाउन आम जनसमुदायमा व्यापक प्रचारप्रसार गर्ने र नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारी मार्फत सुरक्षा निकायहरुले कडाइका साथ पालना गराउने व्यवस्था मिलाउने ।
६. कोभिड आइसोलेसनको लागि आवश्यकता अनुसार निजी क्षेत्रको होटेलहरुलाई सुरक्षा मापदण्ड सहित उपयोग गर्ने ।
७. कर्णाली प्रदेश अन्तर्गतका कोभिड अस्पतालको लागि चौविसै घण्टा विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गर्ने ।
८. कम्तिमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिई सञ्चालन गर्ने र माथिका विकट क्षेत्रहरुको हकमा हेलिकोप्टर सहितको व्यवस्था गर्ने ।
९. स्थानीय तहहरुको लागि कोभिड-१९ व्यवस्थापनको लागि आवश्यक व्यवस्था गर्न सहयोग गर्ने र स्थानीय तह (पालिकाहरु) मा पठाइएको रकमको प्रगति विवरण बुझ्ने ।