सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका अध्यक्ष महेन्द्र यादवविरुद्ध जबरजस्ती करणी मुद्दा दता गरिएको छ । बुधबार धरानस्थित डुकु होटलबाट युवतीसहित रङ्गेहात पक्राउ परेका उनीमाथि युवतीको जाहेरीका आधारमा प्रहरीले करणी मुद्दा दर्ता गरेको हो ।
बुधबार राति उनी इनरुवाकी १७ वर्षीया युवतीसँग आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् । जागिर लगाइ दिने प्रलोभनमा होटल लगेर जबरजस्ती करणी प्रयास गरेको भन्दै युवतीले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय धरानले उनीविरुद्ध करणी मुद्दा गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानबहादुर बस्नेतका केटिएम दैनिकलाई बताएअनुसार किशोरीले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय धरानले जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको हो ।
जागिर लगाइदिने बहानामा अध्यक्ष यादवले किशोरीलाई बुधबार धरानको डुकु होटलमा लिएर गएका थिए । किशोरीको जाहेरीपछि बिहीबार दिउँसो म्याद थपका लागि अध्यक्षलाई जिल्ला अदालत सुनसरी लगिएको उनले बताए । अध्यक्ष हिजो दिउँसो सरकारी गाडीमा होटल आएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । सोही आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो ।