कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ मा एक सुकुम्वासी बस्ती छ । त्यो बस्तीमा ८५ घरधुरी छन् तर ती मध्ये कसैसँग लालपुर्जा छैन । शिवरतनपुरका स्थानीय कमलप्रसाद चौधरी २०४३ साल देखि अैलानि जमिनमा बस्दै आएका छन् ।
लालपुर्जाको बारेमा खासै आफूलाई जानकारी नभए पनि एउटा जिल्ला स्तरीय समिति बनेको छ भन्ने सुनेको थिए उनले भने, तर गाउँमा एउटा पनि नम्बरी जमिन छैन सबै अैलानी जमिन हो । उनले भने गाउँमा केही नभए पनि यस ठाउँमा बस्न आएका हौ । चुनावका बेला त नेताहरूले लालपुर्जा दिन्छौ भन्ने आश्वासन दिने गरे पनि चुनाव जितेपछि फकिएर नआउने गरेको उनले बताए ।
गत पुस २ गते भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानीय तह बिच जग्गा उपलब्ध गराउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । अव लालपुर्जा पाइने भयो भन्ने खुसी त लागेको छ तर पाइन्छ की पाइँदैन । लालपुर्जा नहुँदा कारोबार लगायत सबै सेवा सुविधा बाट बन्चित भएको उनले बताए ।
कमल जस्तै ८५ घरधुरीका स्थानीयहरू लालपुर्जा विहीन भएका छन् । राज्यबाट पाउने सेवा सुविधा लगायत केही काम गर्दा लालपुर्जा चाहिने भए तापनि त्यो नहुँदा धेरै समस्या भएको स्थानीय ललिता चौधरी बताउँछिन् । लालपुर्जा पाइन्छ कि भन्ने खुसी लागेको छ,उनले केटिएम दैनिकसँग भनिन् ।
भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानीय तह बिच जग्गा उपलब्ध गराउने विषयमा समझदारी हुँदा अव लालपुर्जा पाइन्छ भनेर स्थानीयवासी खुसी भएका छन् । अहिले लालपुर्जा नहुँदा सेवा सुविधाबाट बन्चित हुनु परेकोमा उनीहरूको दुखेसो छ ।
बैक बाट केही ऋण लिएर व्यापार व्यवसाय गरूँ भन्ने पनि लालपुर्जा नहुँदा धेरै समस्या भएको अर्का स्थानीय जोखनलाल चौधरीले बताए । सङ्कटकाल पहिला लालपुर्जा बनेको भए पनि वितरण गर्न बेला सङ्कटकाल सुरु भयो । सशस्त्र द्वन्द्व गरेको माओवादीको शासन सता आएपछि पनि आफूहरूले लालपुर्जा नपाएको उनी बताउँछन् ।
३ दशक बित्ती सक्दा पनि लालपुर्जा पाउन नसकेको स्थानीय प्रेमलाल चौधरीले बताए । लालपुर्जा नहुँदा अर्का गाउँका मानिसहरू ले हेप्ने गरेको तितो यथार्थ उनले सुनाए । यस ठाउँमा बस्दै आएको ३ पुस्ता हुँदा सम्म पनि अहिले सम्म लालपुर्जा पाउन नसकेकोमा उनले दुखेसो गरे ।
यसबारेमा बुझ्न कैलारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र राज जोशीसँग केटिएम दैनिकले सम्पर्क गर्दा उनले भूमिहीन सुकुम्वासीको तथ्याङ्क सङ्कलन भइरहेको बताए ।