पहिलो चरणको कोरोना संक्रमण दर शुन्यमा झरेको धनकुटामा पुनः संक्रमण देखिन थालेपछि धनकुटाका सबै विद्यालय १० दिनका लागि बन्द भएका छन् ।
धनकुटा नगरपालिकाले बुधबारदेखि लागू हुनेगरी नगर क्षेत्रका सबै विद्यालय १० दिनका लागि बन्द गरेको जनाएको हो ।
बालबालिका बिरामी हुने क्रम बढेको र एक जना छात्रमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक रूपमा नगर क्षेत्रका विद्यालय बन्द गराइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले नगर क्षेत्रको विद्यालयका १ विद्यार्थीमा सङ्क्रमण भएको र उनको कन्टाक्ट ट्रेसिङ गर्दा अन्य १६ जना विद्यार्थीमा मिल्दोजुल्दो लक्षण देखिएका कारण आकस्मिक रूपमा विद्यालय बन्द गरेको बताए ।
वैशाख १७ गतेसम्म नगर क्षेत्रका विद्यालय बन्द गराउने सूचना जारी गरिएको छ ।