बागलुङको एक विद्यालयका ३९ शिक्षक र विद्यार्थीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका– १४ बलेवास्थित जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जना संक्रमित भेटिएको केटिएम दैनिकलाई बताए ।
संक्रमितलाई घरमै सुरक्षित रहन भनिएको छ ।
तर उनीहरुसँगै पढेका अन्य विद्यार्थी बिदा मनाउन कता पुगे भन्ने विद्यालयलाई जानकारी छैन । संक्रमणको जोखिम बढेपछि संक्रमण देखिएको उक्त विद्यालय रहेको वडासहित केही अन्य वडामा पनि विद्यालय बन्द गर्ने तयारी भैरहेको छ । आज बेलुका नै यसबारे निर्णय हुनसक्ने घिमिरेले केटिएम दैनिकलाई बताए । संक्रमण बढेपछि अभिभावकले विद्यालय बन्द गर्नु पर्ने माग गरेका छन् ।