अन्नपूर्ण मिडिया नेटवर्कअन्तरगतको अन्नपूर्ण पोष्ट(पत्रिका,अनलाइन)मा एक वर्षअघि राजीनामा दिएका एक पत्रकारले आफूले पाउनुपर्ने बाँकी पारिश्रमिक अझैं पाएका छैनन् । एक वर्षको अवधिमा उनले बारम्बार बाँकी रकम चुक्ता गरिदिन आग्रह गरे । तर आश्वासनबाहेक केही पाएनन् । मिडिया प्रसाशनले बाँकी रकम दिन्न पनि भनेको छैन । दिएको पनि छैन । ‘मैले पटक पटक बाँकी पैसा दिन आग्रह गरेँ, नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने, ‘प्रत्येक पटक कुरा गर्दा दिन्छौं भन्छन् तर, हालसम्म दिएका छैनन् ।’
उसो त कामबाट राजीनामा दिएको लामो समयसम्म बाँकी पाउनुपर्ने रकम नपाउने उनी एक्लै होइनन् । अन्नपूर्णमा उनीजस्तै अरु पनि धेरै छन् । केही दिनअघि अन्नपूर्ण छोडेर अन्य विभिन्न मिडियामा काम गर्ने केही पत्रकारले बाँकी पारिश्रमिक पाउनु पर्ने माग राख्दै सामूहिक ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए । काम छोडेको लामो समय भइसक्दा पनि बाँकी तलब र पाउनुपर्ने सेवा सुविधा नपाएको गुनासो पत्रमा छ ।
‘अरुलाई प्रश्न गर्ने मिडिया आफैं ठूलो प्रश्नचिन्हमा रहनु शोभनीय हुँदैन’, पत्रमा भनिएको छ, ‘उक्त कार्य प्रचलित कानुनविपरीत पनि हो ।’ पत्रमा चेतावनीको भाषासमेत प्रयोग गरिएको छ । ‘हाम्रो शालिनतालाई कमजोरी ठान्नेतिर नलागी सम्मानजनक बिदाइ गर्नुहुनेछ भन्ने विश्वास छ । अन्यथा प्रचलित कानुनअनुसार अघि बढेनेछौं ।’ उक्त पत्र उनीहरुले प्रेस काउन्सिल, प्रेस रजिस्टार र पत्रकार महासंघलाई पनि बोधार्थ बुझाएका थिए । तर पत्र बुझाएको एक महिना बढी भयो कुनै जानकारी नआएको एक पत्रकारले बताए ।
यो समस्या अन्नपूर्ण पोष्टमा मात्रै होइन । नेपाल रिपब्लिक मिडियाद्वारा सन्चालित नागरिक दैनिकमा पनि अवस्था यस्तै छ । यहाँ पनि काम छोडेको एक, डेढ वर्ष भइसक्दा पनि बाँकी पाउनुपर्ने बक्यौता नपाएका धेरै पत्रकार छन् । उनीहरुले पटक पटक बाँकी पैसा चुक्ता गरिदिन आग्रह गर्दा पनि पाएका छैनन् ।
केही दिनअघि राजीनामा दिएको वर्षदिनसम्म पनि बाँकी पारिश्रमिक नपाएको भन्दै नागरिक छोडेका एक पत्रकारको एक समूहले सामूहिक रुपमा ध्यानाकर्षण गराएका छन् । पटक पटक एकल रुपमा आग्रह गर्दा कुनै सुनुवाइ नभएपछि उनीहरुले सामुहिक रुपमा बाँकी पारिश्रमिक दिलाइदिन भन्दै रिपब्लिक मिडियाको ध्यानाकर्षण गराएको बताएका छन् । एकल आग्रह गर्दा पटक पटक आश्वासन पाएका उनीहरुले सामुहिक आग्रह गर्दा पनि आश्वासन मात्रै पाए । बैशाख ११ गते मिडियाको वार्षिकउत्सव भएकोले त्योभन्दा अगाडि सम्भव नभएको व्यवस्थापनले जानकारी दिएको एक पत्रकारले बताए ।
उनकाअनुसार यस्ता आश्वासन धेरै पटक पाइसके । ‘दिँदैनौं पनि भन्दैनन् । दिन पनि दिँदैनन् । पटक पटक टार्दै आएका छन्,’ उनले भने, ‘एक्लै भन्दा कसैले नसुन्ने । यो पटक सामुहिक रुपमै गयौं । तर फेरि पनि आश्वासन पाइयो । बाँकी पाउनुपर्ने पैसा पाइएन ।’
उसो त नागरिकमा काम छोडेको लामो समयसम्म पनि बाँकी रकम नपाउने उनीहरु मात्रै होइनन् । अरु पनि धेरै छन् । जसले राजीनामा दिएको महिनौं÷वर्षौ भए पनि बाँकी रकम पाएका छैनन् । माग्न जाँदा पटक पटक आश्वासन पाउँछन् पैसा पाउँदैनन् । कतिपयले त पटक पटक माग्दा पनि पैसा नपाएपछि दान हुनेभो भन्दै पनि हिँडेका छन् ।
यस्तो समस्या अन्नपूर्ण पोष्ट वा नागरिकमा मात्रै होइन । अन्य मिडियामा पनि छ । जहाँ पत्रकारले आफ्नो श्रमको मूल्य काम छोडेको वर्षौसम्म पनि पाएका छैनन् । कहिलेकाही पत्रकारहरुबीच यही विषयमा चिया गफ हुन्छ । अनि उनीहरुले दश वर्षअघि काम गरेको पैसासमेत नपाएको गुनासो सुनाउँछन् । यसबाट पनि प्रष्ट हुन्छ यो नेपाली मिडियामा ठूलो रोग नै भइसक्यो ।
आर्थिक पत्रकारितामा नाम कहलिएको कारोबार दैनिकको पनि हालत त्यही नै छ । साथीहरुले राजीनामा गरेको लामो समयसम्म पनि तलब नहालिदिएको भन्दै दिनुहुँ जसो गुनासोको पोकाहरु बोकेर आउनु हुन्छ, एक पत्रकारले भने ।
यी त केही प्रतिनिधि घटना मात्र हो । यस्ता घटनाहरु ठूला तथा स्वरोजगार मिडियाहरुमा धेरैै नै छन् । धेरै पत्रकारहरु आफ्नो बेदना लुकाएर हिड्न रुचाउँछन् ।
राजधानी काठमाडौंमा बसेर पत्रकारिता गर्ने मात्रै होइन मोफसलमा पत्रकारिता गर्ने धेरैले पनि काम गरेको पूरा पारिश्रमिक पाउँदैनन् । तोकिएको तलब समयमै नपाउने कुरा त सामान्य भइसक्यो । काम छोडेको वर्षौसम्म पनि पनि काम गरेको पारिश्रमिक नपाउनु विडम्बना हो ।
यो समाचार तयार गर्ने भनेपछि हामीसँग ताप्लेजुङ् देखि रसुवा सम्मका पत्रकार साथीहरु सम्पर्कमा आएका छन् । मोफसलमा बसेर काम गर्दा झन् धेरै दुख हुन्छ । ठूलो मिडियामा काम गर्नेको ताल हेर भनेर गिज्याउँछन् । आफ्नो दुख र पीडा सबै लुकाएर हिड्नु पर्या छ । नाम नखुलाइदिने सर्तमा मोसफलमा कार्यरत एक पत्रकारले हामीसँग गुनासो पोखे ।
राजधानीमा कार्यरत धेरै पत्रकारहरुले नियुक्ति पत्र नपाउने समस्या छ । नियुक्ति पत्र नपाउँदा सूचना तथा प्रशारण विभागले दिने पत्रकार प्रेस पाउन उनीहरुले सकिरहेका छैनन् ।
विरलै हुन्छ विद्रोह
यस्तो कयौँ पीडा बोकेर अरूका पीडा सुनाउने पत्रकारले पनि कहिलेकाहीँ बाध्य भएर विद्रोह गर्छन् । यो एक वर्षको अवधिमा पनि देखिने केही विद्रोह भएका छन् । त्यसमा विभिन्न सञ्चार माध्यममा रिले अनसनदेखि आफै कार्यरत मिडियामा अनसन बसेका पछिल्ला उदाहरण छन् ।
महामारीको बहानामा जबरजस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौँदेखि तलब नदिने सञ्चार संस्थाबाट पीडित पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका थिए । उनीहरूले ठुला भनिएका सबै मिडियामा आन्दोलन गरे । विभिन्न विरोधका कार्यक्रम गरे । लामो समयसम्म पनि तलब माग्दा, पुनर्बहाली गर्दा तथा श्रमजीवी पत्रकार ऐन अनुसार सुविधा माग्दा कामबाटै वञ्चित गराइएपछि पत्रकारहरू रिले अनशनमा बसेका थिए । यो मिडिया मालिकविरुद्धको कडा विद्रोह थियो । पत्रकार महासङ्घको समन्वयमा पीडित पत्रकार-कर्मचारी संयुक्त सङ्घर्ष समिति नै बनाएर उनीहरूले अनसन गरे ।
यही वर्ष नागरिक दैनिकका पत्रकार सुवीद गुरागाईँले धर्नामा बसे । गुरागाईँ नागरिक दैनिकमा कार्यरत पत्रकारको पुरानो बाँकी बक्यौता चुक्ता गरी नियमित रुपमा मासिक पारिश्रमिक दिनुपर्ने माग राख्दै पाँच दिन अनसन बसे । उनलाई विभिन्न सञ्चारकर्मी र सङ्घसंस्थाले साथ दिए ।
पत्रकारहरुले बाध्य भएर बिद्रोह गरेपछि अन्नपुर्ण पोष्टले आन्दोलनरत पत्रकारहरुको मुद्दा त सम्बोधन गर्यो । तर तलब भने समयमा दिन सकेन ।
वर्षौँदेखि अरूका अन्यायका विरुद्ध समाचार लेख्ने पत्रकारका पीडा पनि अब समाचार बन्नुपर्छ । श्रमजीवीले न्यूनतम पारिश्रमिक पनि नपाउने ? जीवनभर श्रम, पसिना बगाउने पत्रकारहरूको जीवन कष्टकर भइरहने ? काम गरेको ज्याला पनि नपाउने ? यी विषय पनि अब समाचारका शीर्षक बन्नुपर्छ । न्यायका लागि लेख्नेहरू नै अन्यायमा पर्नु दुर्भाग्यपूर्ण हो । अब पत्रकारहरूले आफ्नो हकहितबारे पनि बोल्नु पर्छ ।
अरूलाई प्रश्न गर्ने मिडिया व्यवसायमाथि पनि प्रश्न उठाइनु पर्छ । मिडियामा हुने यस्ता समस्या, जटिलता अरू कसैले होइन मिडिया हाउसले उठाउनु पर्छ ।
यो केटिएम दैनिकको विशेष स्तम्भ हो । मिडिया, पत्रकार र यससँग सम्बन्धित विषयमा केन्द्रित यो स्तम्भ प्रत्येक साताको मङ्गलवार प्रकाशन हुनेछ । तपाइसँग पनि यस क्षेत्रका सूचनाहरू छन् र ती कुराहरू उजागर गर्न चाहनुहुन्छ भने हामीलाई फोन वा इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ । एसएमएसको लागि 9851186993 र इमेलको लागि ktmdainikofficial{at}gmail.com