कोरोना संक्रमितको संख्या दिनै जसो बढिरहेको छ । तर सरकार पक्षबाट कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि गर्नुपर्ने तयारी भने सुस्त गतिमा छ ।
सङ्क्रमितको उपचारका लागि व्यवस्थापन गरिएका उपत्यका बाहिरका अस्पताल तथा स्वास्थ्य केन्द्र पनि भरिन थालेका छन् । जनशक्ति र पूर्वाधार व्यवस्थापनमा चासो नपुग्दा बिरामीले उपचार नै नपाउने जोखिम बढेको छ ।
सङ्क्रमित बढी भएका ठाउँमा अस्पताल र आइसोलेशन भरिभराउ हुन थालेका छन् । आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको सङ्ख्या तुलनात्मक रुपमा बढ्दै गएको डाक्टरहरुले बताएका छन् ।
धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा २१ जना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार २ जना भेन्टिलेटर र ६ जना आईसीयूमा उपचाररत छन् । डाक्टरहरुका अनुसार कोरोना सङ्क्रमणका बिरामीहरूको अवस्था तुलनात्मक रूपमा पहिलो लहरमाभन्दा फरक छ । अहिले सङ्क्रमित भएका धेरैमा निमोनिया देखिएको छ।
बिरामीको फोक्सोको तल्लो भाग बढी प्रभावित हुने गरेको पाइएको छ । सुदूरपश्चिम प्रदेशका १८ वटा सरकारी स्वास्थ्य संस्थामा भेन्टिलेटरको सङ्ख्या २५ र आईसीयूको सङ्ख्या २९ छ । तीमध्ये १५ आईसीयू र १० वटा भेन्टिलेटर सेती अस्पतालमा छ । टीकापुर, बझाङ, दार्चुलाको गोकुलेश्वरमा एउटा पनि आईसीयू र भेन्टिलेटर छैन ।
प्रदेशभर अहिले ८७ ठाउँमा २ हजार १ सय ७८ आइसोलेशन शैया रहेको निर्देशनालयले जनाएको छ । सङ्क्रमण बढेसँगै प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा ५० शैयाको कोरोना अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । धनगढी र महेन्द्रनगरमा ५० शैयाको अस्पताल छ।
भारतसँग सीमा जोडिएको बैतडीमा पनि कोरोनाका बिरामी बढिरहेका छन् । तर सामान्य एन्टिजेन प्रविधिबाट परीक्षणबाहेक थप सतर्कता अपनाइएको छैन ।
जिल्लामा पछिल्लो पटक १८ जना सङ्क्रमित छन् । उनीहरुमध्ये १७ जना होम आइसोलेशनमा नै बसिरहेका छन् भने एकजनामा गम्भीर समस्या देखिएकाले उपचारका लागि धनगढी पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताएका छन् ।
अहिले अरु खालका बिरामीको चाप भएर उपचारका लागि जानेको भीड लागेकाले कोरोनाको उपचारको लागि छुट्टै ठाउँ नभएकाले धनगढी पठाउनुपर्ने बाध्यता रहेको छ । अस्पतालले अहिलेसम्म कोरोनाको बिरामीको उपचारका लागि छुट्टै वार्डको व्यवस्थान समेत गर्न सकेको छैन ।
दशरथचन्द नगरपालिकाले भारतलगायत ठाउँबाट आउनेका लागि सुन्दरखालीमा आइसोलेशनको व्यवस्था गरेबाहेक अरु केही काम नथालिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख बिनोद चन्दले बताएका छन् ।
देशभरका ठुला सहरहरुमा पनि कोरोना संक्रमितको संख्या उतिके मात्रामा बढि रहेको छ । शैक्षिक संस्थाहरु बन्द भए पनि अन्य क्षेत्रमा भने मानिसको भिड नग्ने मात्रमा छ ।