मोरङको पथरीशनिश्चरेमा बाटो खन्न गएको स्काभेटरमाथि स्थानीयले आगजनी गरेका छन् । पथरीशनिश्चरे–५ मा बाटो खोल्न गएको स्काभेटरमाथि स्थानीय पदमदेवी उप्रेती र बेनिशा चौलागाईले आगजनी र तोडफोड गरेका हुन् ।
पदमदेवी र बेनिशा सासू–बुहारी हुन् । नेपाल सरकारको नक्सामा रहेको बाटो उप्रेती परिवारले भोगचलन गर्दै आएका थिए । स्थानीय महाराजथान समितिले बाटो खोल्ने भएपछि विवाद उत्पन्न भएको थियो । हाल बाटो आवश्यक भएका कारण समितिले बाटो खोल्ने विषयमा बैठक पनि बसेको थियो ।
तर पटक–पटक वडा र नगरमा बसेको छलफल तथा बैठकमा उप्रेती परिवारले बाटो नछोड्ने अडान राखेका थिए । त्यसपछि नगरले वडाको रोहवरमा बाटो खोल्ने निर्णय गर्दै ४ वैशाखमा स्थानीय, जनप्रतिनिधि र प्रहरी प्रशासनकै रोहवरमा स्काभेटरले बाटो खोल्न सुरु गरेको थियो । शनिबार मध्याह्न १२ बजे बाटो खनिरहेको स्काभेटरमाथि सासू–बुहारीले आगजनी र तोडफोड गरेका थिए ।
अपराह्न ४ बजे प्रहरीले सासू–बुहारीलाई पक्राउ गरेको थियो । तर बेलुकी ८ बजे नै छलफल र सहमतिविना प्रहरीले सासू–बुहारीलाई छोडिदिएपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरूले प्रहरीले कारवाही र क्षतिपूर्ति नतिराइ छोडेको स्थानीयको आरोप छ ।
स्काभेटर सञ्चाक सञ्जय शाहले बाटो खन्ने क्रममा आगजनी र तोडफोड हुँदा २ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको बताए । प्रहरी प्रसासनकै अगाडि डोजरमाथि आगजनी र तोडफोड हुँदासम्म प्रहरीले जाहेरी नलिनु र कारवाही प्रक्रिया अगाडि नबढाउनुले प्रहरीबाट न्याय पाइन्छ भन्ने कुरामा शङ्का उब्जिएको उनको आरोप छ ।
यता, इलाका प्रहरी कार्यलयका पथरीका प्रहरी नायव उपरिक्षक कृष्ण खड्काले आगजनी गर्न खोज्दा प्रहरीले जोगाएको बताए ।