काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका हुन् ।
दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष ओलीको साङ्गठानिक प्रतिवेदन पेस गर्ने र कर्णाली प्रदेशमा भएको घटना र फ्लोर क्रस गर्ने सांसदमाथिको कारबाहीका बारेमा छलफल हुने एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा केही जिल्लाहरुमा नेताको कार्यविभाजन हेरफेर तथा जिम्मेवारी तोकिनेबारेमा पनि छलफल हुने सचेतक भट्टराईले बताए । बैठकमा खनाल–नेपाल समूह भने नजाने भएको छ । महाधिवेशन आयोजक कमिटी गठनमा असन्तुष्टि जनाउँदै आएको खनाल–नेपाल समूहले बैठकमा नजाने बताएको हो ।
नेकपा एमालेका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले हिजो एक अपिल जारी गरेर आज बोलाएको बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा लिखित निवेदन दर्ता गराएको छ ।