विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति बाँसबारी र विश्वहिन्दू महासंघ कलङ्की बिच एकता हुने भएको छ। विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले आधिकारिक रूपमा अनुमोदन गरेपछि अब यी दुई महासंघ एक हुने भएका हुन्।
यही वैशाख ८ गते राम नवमीका दिन विश्व हिन्दु महासंघ ४१ औँ स्थापना दिवसका दिन औपचारिक रूपमा एकता घोषणा गरिने महासंघकी महासचिव अस्मिता भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘संसारभरिका हिन्दु ओमकार परिवारको छाता संस्था विश्व हिन्दु महासंघ २०३७ सालमा श्री राम नवमीका दिन स्थापना भई विश्वका विभिन्न मुलुकहरूमा इकाई स्थापना गरी सक्रिय रहँदै आएको छ।
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय अन्तरगत नेपाल राष्ट्रिय समिति बाँसबारी र नेपाल राष्ट्रिय समिति दर्ता नम्बर ३३८ कलङ्की परिस्थिति बस अलग रही सञ्चालन भई आएकोमा दुवै समितिको अथक प्रयासबाट सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूलाई एकताको सुत्रमाआवद्ध गर्नलाई दुवै समिति बिच एकता भई नेपाल राष्ट्रिय समितिका रूपमा कार्य सञ्चालन गर्ने गरी विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले अनुमोदन गरेको छ।’
साथै, विज्ञप्ति मार्फत राम नवमीका दिन एकता घोषणा कार्यक्रम नै गरी सार्वजनिक रूपमा उद्घोष गरिने पनि उल्लेख छ।