भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
गजुरसहितको नयाँ धरहरा २२ तले हुनेछ। यसको उचाइ करिब ७७ मिटर हुनेछ। भुइँचालोले भत्काएको धरहरा ९ तले थियो। नयाँ धरहरा पुरानोभन्दा शहिदगेटतिर १० मिटर अगाडि बन्नेछ।
नयाँ धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै भएपनि मोटाइ भने पहिलेको भन्दा बढी हुनेछ। ४२.२ रोपनी फैलने धरहरा नजिकै सङ्ग्रहालयसँगै मनोरम बगैंचासमेत निर्माण गरिने छ। धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बन्नेछ।
अहिले निर्माणको अन्तिम चरणमा रहेको नयाँ धरहराको गजुर हाल्ने लगायतका काम द्रुत गतिमा भैरहेको छ । भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ। धरहरा बनाउन ३ अर्ब ४५ करोड रुपैयाँ खर्च हुनेछ। यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो । हरेक दुई तलामा पहिलाकै जस्तो कार्नेसको बुट्टा रहेको छ भने पुरानै शैलीको गोलो झ्यालहरु यसमा देख्न पाइनेछ ।
पहिले सुर्की र इँटाबाट बनेको धरहरा अहिले गिट्टी बालुवा, सिमेन्ट र रडको प्रयोग गरी बनाइएको छ । पहिले हुलाक कार्यालय रहेको ठाउँमा अहिले पार्किङ क्षेत्र बनाइएको छ। यो तीन तहको पार्किङ क्षेत्र हुनेछ भने यसको माथि बगैंचा र पानीको फोहोरा हुनेछ । अहिले बन्न लागेको धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ । छेवैमा रहेको सुन्धारालाई पनि जीवन्त बनाउने काम भइरहेको छ ।
धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप निर्माण गर्न लगाएका थिए । त्यस समयमा यसको उचाई ११ तल्ला थियो । ९० सालको भूकम्पले धरहरा पनि भत्किएको थियो । दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जंगबहादुर राणाले साबिक बमोजिम नौ तल्ला नै कायम गरी पुनः निर्माण गरेका थिए पुनः विसं २०७२ को महाभूकम्पले यो पूर्ण नष्ट भयो । अहिले बनेको धरहरा नयाँ हो ।