नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेशसभामा सदस्य झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु गरेको छ । पार्टीको सुदूरपश्चिम संसदीय दलले बोहरा दलमा नरहेको जानकारीसहितको पत्र बिहीबार प्रदेशसभामा दर्ता गराएपछि उनी प्रदेशसभाबाट निलम्बन हुने प्रक्रिया सुरु भएको हो ।
माओवादीबाट एमालेमा प्रवेश गरेका अछाम क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित झपट बोहरालाई बिहीबार दलका नेता त्रिलोचन भट्टले बोहरालाई माओवादी केन्द्रमा नरहेको भन्दै पत्र दर्ता गएको संसद् सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । कारबाहीको पत्र ५ बजे दर्ता भएको उनले बताए।
शुक्रबार प्रदेश सभा बैठक आह्वान गरिएको छ । शुक्रबारको बैठकमा सचिवालयमा दर्ता भएको पत्रबारे जानकारी गराउने विषयमा सभामुख अर्जुनबहादुर थापासँग छलफल गर्न बाकी रहेको उनले केटिएम दैनिकसँग बताए ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि बोहराले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको केन्द्रीय सदस्य भएको भन्दै २५ चैतमा स्पष्टीकरण सोधेको थियो । तर, बोहराले स्पष्टीकरणको अर्थ नभएको भन्दै जवाफ दिएनन् ।
यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बोहराले साविक नेकपामा फाटो आएसँगै मन्त्री पदबाट राजीनामा दिएका थिए । राजनीतिक दलसम्बन्धी दफा ३४ मा दलमा त्याग गर्ने सदस्य सांसद नहुने व्यवस्था छ ।
प्रदेशसभाले अब प्रदेशसभा नियमावली २०७४ को नियम १९० अनुसार उनलाई निलम्बन गर्ने प्रक्रिया थाल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका तर्फबाट १४ सदस्य थिए ।