नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन भर्खरै सम्पन्न भएको छ । निर्वाचनबाट आगामी ३ वर्षको लागि नयाँ नेतृत्व चयन भएको छ । देशभर रहेका १३ हजार १ सय भन्दा बढी मतदाताले भोट गरेर राजनैतिक दलको छत्रछाया पाएको गठबन्धन ले नै नयाँ नेतृत्व पाएको छ ।
केही स्वतन्त्र रूपमा उम्मेदवार दिएका पात्रहरू जसले निर्वाचनमा झिनो मत ल्याए उनीहरूको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ ।
नेपाल पत्रकार महासंघको चुनावमा स्वतन्त्र रूपमा अध्यक्षको पदमा उम्मेदवारी दिएका गजेन्द्र सिंह बुढाथोकीले ४ सय ९१ मत ल्याउँदा नेपाल प्रेस युनियन लगायत ११ गठबन्धनबाट उम्मेदवारी दिएका बिपुल पोखरेलले झन्डै ७ हजार मत ल्याएर विजयी भएका छन् ।
चुनावअघि गजेन्द्र बुढाथोकीले केटिएम दैनिकसँग कुरा गर्दै राजनैतिक दलीय सिन्डिकेटबाट मुक्त गर्नको लागि आफूले उम्मेदवारी दिएको बताएका थिए । निर्वाचनको नतिजा सार्वजनिक भएसँगै बुढाथोकीले जसले आफूलाई मत दिए उनीहरूले पत्रकार महासंघको शुद्धीकरण चाहेको बताए । उनले एक भिडियो सन्देश जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिन राजनैतिक दबाब आएको समेत खुलासा गरेका छन् ।
महासचिव पदमा उम्मेदवारी दिएका सुबोध गौतमले पनि गठबन्धनका उम्मेदवारहरुसामू जित निकाल्न सकेनन् । ११ दलको गठबन्धन एकातिर र सत्तापक्षको गठबन्धन एकातिर भएको समयमा पनि ८ सय ९९ मत पाउनु ठूलो कुरा भएको उनी बताउँछन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् “श्रमजीवी पत्रकारका नेता प्लेन चार्टर गरेर भोट माग्न जाने । श्रमजीवी पत्रकारहरु हेलिकप्टर चार्टर गरेर तीनै नेतालाई भोट हाल्न जाने । हो, यही विकृति, विसंगति र प्रवृतिका विरुद्ध मेरो उम्मेदवारी थियो । यसका बिरुद्ध सधै लडिरहने छु ।”
श्रमजीवीको पक्षमा बोल्ने र लकडाउनको बेला कामबाट निकालिएका पत्रकारहरूलाई पुन:बाहली गर्नको लागि सडकदेखि सञ्चार क्षेत्रका मालिकहरूसँग वार्ता गर्ने जन्मदेव जैसीले १ हजार १ सय २७ मत ल्याए । सचिव (खुल्ला) पदमा गोविन्द्रप्रसाद चौलागाईले ६ हजार ७१ मत ल्याएर विजयी हुँदा कुनै पनि गठबन्धनमा नपरेका जैसीले १ हजार १ सय को हाराहारीमा मत ल्याएर पराजित हुनुपर्यो । चुनावअघि उनलाई सामाजिक सञ्जालबाट धेरैले सहानुभूति दिएका थिए । तर भोट हाल्ने बेलामा भने पत्रकारहरूले विवेक प्रयोग नगरेको ठान्छन् जैसी । केटिएम दैनिकसँग कुरा गर्दै जैसीले भने उहाँहरूको पनि बाध्यता थियो हो । कतिलाई कारबाहीमा पर्छु भन्ने डर थियो होला तर ११ सय भन्दा बढी साथीहरूले मलाई समर्थन गर्नुभएको छ ।
स्वतन्त्र रूपमा आफ्नो उम्मेदवारी दिएका अर्का उम्मेदवार हुन् माधव दुलाल । निर्वाचनको अघिल्लो दिन कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका दुलाल लगायत ११ जनालाई नेपाल प्रेस युनियनले ६ वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।
युनियनले गरेको कारबाहीविरुद्ध दुलालले विज्ञप्ति नै जारी गरेर त्यसको खण्डन गरेका थिए । कोषाध्यक्ष पदमा कलेन्द्र सेजुवालले ५ हजार ६७८ मत ल्याएर विजयी हुँदा माधव दुलालले १ हजार ८ मत मा चित्त बुझाउनु परेको छ । उनलाई पनि चुनावअघि धेरै पत्रकारहरूले सहानुभूति दिएका थिए तर अन्तिम समयमा भोट भने हालेनन् ।
नेपाल पत्रकार महासंघमा आर्थिक लगायत अन्य कुराहरूमा पारदर्शिता हुनुपर्छ भनेर लामो समयदेखि आवाज उठाउँदै आएका अर्का पत्रकार हुन् लक्ष्मण कार्की । यसअगाडिका केन्द्रीय सदस्य रहेका कार्कीले २६ औँ महाधिवेशनमा लेखा समिति संयोजकको पदमा उम्मेदवारी दिएका थिए । कुनै पनि गठबन्धनमा नपरेका कार्कीले १ हजार ७ सय १४ मत पाउँदा त्यही पदमा उम्मेदवारी दिएका लेखनाथ न्यौपानेले ५ हजार ६ सय ८८ मत ल्याएर निर्वाचित भए ।
लेखा समिति सदस्य (महिला) पदमा तीन जनाको उम्मेदवारी परेको थियो जसमध्ये देवी सापकोटा ११ वटा गठबन्धनको प्यानलमा परेकी थिइन् भने कालिका शिवाकोटी सत्ता पक्षीय प्यानलमा त्यसबाहेक आफू कुनै पनि प्यानलमा नभएको बताउने मन्जिमा ढकालले १ हजार २ सय ७० मत ल्याइन । पत्रकार महासंघमा युवा नेतृत्व पुग्नुपर्छ, युवाहरूले त्यहाँ भएका विभिन्न अनियमितता र सुशासनका बारेमा औंला उठाउनुपर्छ भनेर उम्मेदवारी दिएकी ढकालले पनि चुनावमा पराजय भोग्नुपर्यो ।
पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा गएको पत्रकार महासंघको चुनावमा भोट दिने बेलामा यो यो पदमा भोट हाल्नु भन्दै चिट बोकेर मतदातालाई प्रवेश गराइएको, भोट हालेको फोटो खिचेर ल्याउनु भन्ने खालका सर्कुलर समेत जारी भएका खबरहरू सार्वजनिक भएका छन् । यसबाट पनि पत्रकारहरूले स्वतन्त्र रूपमा आफ्नो मतको प्रयोग गर्न नपाएको गुनासो सुनिन थालेको छ ।
पूर्वपत्रकार रविन्द्र मिश्रले एक टेलिभिजनमा कुरा गर्दै भने ती पत्रकारहरुले जसले पार्टीको छाता ओडेर पार्टीका उम्मेद्वारलाई भोट हाले तिनको जीवनमा कहिल्यै परिवर्तन आउँदैन र तिनीहरुले आफ्ना छोराछोरीको जिवनमा पनि परिवर्तन ल्याउन सक्दैनन् ।
पत्रकार महासंघको सदस्यता हुनको लागि कुनै पनि राजनैतिक दलको शुभेच्छुक संस्था (प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, लगायत) बाट सिफारिस लिनुपर्ने बाध्यता भएको कारणले पनि ह्विपको पालना गर्नुपर्ने अवस्था आएको चर्चा परिचर्चा सुरु भएको छ ।
यो स्टोरी तयार गर्ने क्रममा केटिएम दैनिकले चुनावमा पराजित भएका केही उम्मेदवारहरूसँग सम्पर्क गरेका थियो । पराजित भएका केही पात्रहरूले देशभरका पत्रकारहरूले भोट दिँदा नाम चलेको, नाम सुनेको, सक्रिय पत्रकार वा उसका एजेन्डा र विगतमा उसले गरेको कामको मूल्याङ्कन हुनुपर्ने जुन अपेक्षा थियो त्यो अपेक्षा अनुसार परिणाम नआएको बताए ।
यो केटिएम दैनिकको विशेष स्तम्भ हो । मिडिया, पत्रकार र यससँग सम्बन्धित विषयमा केन्द्रित यो स्तम्भ प्रत्येक साताको मङ्गलवार प्रकाशन हुन्छ ।