नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ। नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले विगतका वर्षहरुमा वैशाख १ गते नयाँ वर्षको अवसरमा मात्रै बिदा दिँदै आए पनि गत वर्ष १ र २ गते सार्वजनिक बिदा दिएको थियो। नगरपालिकाले यस वर्ष भने चैत ३१ गतेदेखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
‘हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्यरूपमा बिस्केट जात्रा मनाइन्छ, यहाँका स्थानीय बासिन्दाका लागि यो ठूलो चाडपर्व हो, यहाँ वैशाख २ गते ३२ खट जात्रा भव्यरूपमा सिन्दुर खेलेर मनाइन्छ, बोडेमा जिब्रो छेडेर ऐतिहासिक जात्रा मनाइन्छ’, उनले भने, ‘बिदाको अभावमा यहाँका बासिन्दाले आफ्नै चाड पनि राम्रोसँग मनाउन नसक्ने अवस्था रहेकाले यस वर्षदेखि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।’
बिस्केट जात्रालाई विशेषगरी भक्तपुर जिल्लाभरिमा नेवार समुदायले दशैँभन्दा ठूलो चाडका रूपमा मनाउने गर्दछन्। मठमन्दिरमा बलि पूजा गर्ने, विदेशमा रहेका आफन्त पनि बिस्केटलाई घर आउने र बिस्केट जात्रामा आफ्ना सबै नातेदार, आफन्तलाई बोलाएर भोज खुवाएर नौ दिन आठ रातसम्म भव्यरूपमा मनाउने गरिन्छ।