‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ धनगढी जेसिसले आयोजना गरेको सातौँ संस्करणको धनगढी हाफ म्याराथनको उपाधि जुम्लाका दुर्गा बहादुर बुढाले जितेका छन् ।
२१ दशमलव १ किलोमिटरको दुरी उनले १ घण्टा ०६ मिनेट ०८ दशमलव १८ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन । बुढाको यो लगातार तेस्रो उपाधि हो । उपाधि सँगै बुढाले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ समेत प्राप्त गरे ।
त्यस्तै निर्धारित दुरी १ घण्टा ०९ मिनेट ०८ दशमलव ५३ सेकेन्डमा पार गर्दै बैतडीका नरेन्द्र रावत दोस्रो भए भने सशस्त्र प्रहरीका सन्तोष विष्ट तेस्रो भए । उनले २१ दशमलव १ किलोमिटरको दुरी १ घण्टा १२ मिनेट ०४ दशमलव २७ सेकेन्डमा पार गरे । दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र विष्टले नगद ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ समेत प्राप्त गरेका छन्।
यसै गरी पहिलो पटक आयोजना गरिएको खुला ५ किलोमिटर महिला तर्फको उपाधि कैलालीकी सीमा चौधरीले प्राप्त गरिन उनले उक्त दुरी २० मिनेट दशमलव ११ सेकेन्डमा पूरा गरिन । उपाधि सँगै चौधरीले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरिन ।
त्यस्तै सीता चौधरी दोस्रो र नेहा खड्का तेस्रो भए । चौधरीले निर्धारित दुरी २० मिनेट ४४ दशमलव २८ सेकेन्ड र खड्काले २२ मिनेट ६ दशमलव ३१ सेकेन्डमा पूरा गरेका थिए ।
उपाधि सँगै दोस्रो र तेस्रो हुनेले क्रमशः ३ हजार ३ सय ३३ रुपैयाँ र २ हजार २ सय २२ रुपैयाँ नगद प्राप्त गरे ।
धनगढी जेसिसका अध्यक्ष कमलराज पनेरुको सभापतित्वमा भएको उक्त कार्यक्रमका विजेता खेलाडीहरूलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख सुशीला मिश्र भट्ट लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन्।