पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार एक सय जनाको पीसीआर नमूना परीक्षण गर्दा २ सय ९८ जना र १ हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सङ्क्रमण पुष्टि भएकामध्ये भक्तपुरका पाँच, ललितपुरका २६ र काठमाडौंका १ सय ३२ गरी उपत्यकाका १ सय ६३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर २ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएसँगै मृतकको कुल सङ्ख्या ३ हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ । केही समयअगाडी संक्रमणको दर घटेकोमा यो सातादेखि बढ्न थालेको छ ।