उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेका छन् । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएका छन् ।
यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तरले भाग लिएका थिए । सन् २०१८ मा कुटनीतिक संवाद पुनः थालनी गर्न यस खेलमा भएको उत्तरको सहभागिताले ठूलो सहयोग गरेका थिए ।
उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले गृष्मकालीन खेलमा उत्तरको प्रतिनिधित्व गरेका थिए । त्यसबखत दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले किम यो जोङसँग निकै सकारात्मक वार्ता गरेका थिए जसका कारण नेता किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रत्यक्ष भेटवार्ताहरु भएका थिए ।
तर प्योङयाङको घोषणाले दक्षिण कोरियाको पुनः वार्ता प्रक्रिया शुरु गराउने एउटा योजनामा धक्का लागेको छ । टोकियो ओलम्पिक आगामी जुलाईमा हुँदैछ । उत्तर कोरियाली ओलम्पिक कमिटीले कोभिड–१९ का कारण आफ्ना खेलाडीलाई सुरक्षित गर्न ३२औं गृष्मकालीन ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको जनाएको छ । तर विश्लेषकहरुले खेलभन्दा पनि अन्य कारणले उत्तर कोरिया सहभागी हुन नचाहेको अनुमान गरेका छन् ।